अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

काठमाडौं, २१ माघ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ११ ट्याबलेट र कोरेक्स ४७ बोतल सहित सुनसरी कोशी गाउँपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०३-००१ ख १०१० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ ग्राम सहित बझाङ छबिसपाथिभेरा गाउँपालिका-६ बस्ने २९ वर्षीय सत्य नारायण फुलारालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले होटल तलासी गर्दा सत्य नारायणलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध चरेश १ किलो ६ सय ३२ ग्राम सहित सोही उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय तुलाराम खत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यालबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय सन्तोष रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम र नगद २ लाख २२ हजार ८ सय ६५ रूपैयाँ सहित सोही नगरपालिका-१० बस्ने २२ वर्षीय रहिस कबडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ फुलबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद १ लाख १ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २९ वर्षीय प्रेम दमाई र २७ वर्षीय सुनिल थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध चरेश ३ ग्राम ५ मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-३ घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका-२ भाँसी बस्ने २५ वर्षीय दिपेन्द्र शाह र दार्चुला मालिकार्जुन नगरपालिका-५ डाँडाकोट घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका-१५ गोवरिया डेरा गरी बस्ने २० वर्षीय नविन अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-१४ चोरमारा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ६१ एम्पुल र नुर्फिन १ सय ६१ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१९ बस्ने २५ वर्षीय आशिष हिताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख ७८७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आशिषलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका-३ बस्ने ३५ वर्षीय राज कुमार लावतीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद १० हजार ९ सय १० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.