दिलीप महतोको हत्यामा संलग्न तीन जना दोषी ठहर

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

औरही खोलामा अवैध रूपमा बालुवा-गिट्टी खनेको विरोध गर्दा मारिएका महतोको घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो दोषी ठहर भएको श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।

उनका अनुसार जिल्ला  अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले विपिन र जितेन्द्र मुख्य कसुरदार र जितेन्द्र मतियार ठहर भएका हुन्।

अगामी फागुन १२ गते उनीहरूलाई न्यायाधीश गुरुङले सजाय निर्धारण गर्ने श्रेस्तेदार बस्नेतले बताए। उनका अनुसार मुख्य अभियुक्तहरूलाई २५ वर्ष वा आजीवन कैद सजाय हुनसक्छ।

कसुरदार ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन्। जितेन्द्र र मुनीन्द्र त्यहाँ कामदार थिए।

हत्या अभियुक्तहरू क्रसर उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोलाई सफाइ दिएको छ।

अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको श्रेस्तेदार बस्नेतले बताए।

घर नजिकैको औरही खोलामा भइरहेको उत्खननको विरोध गर्न पुगेका दिलीपको २०७६ पुस २५ गते बिहान हत्या भएको थियो । फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरी बेहोस बनाएर दिलीपको जिउमाथि टिपर चलाइएको थियो।

Comments are closed.