हिरासतबाट फरार भएका ६ जनामध्ये एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । धनुषास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट भागेका छ जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज भागेका मध्येका रोशन महतोलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हातहातियार तथा खरखजना मुद्दामा हिरासतमा रहेका मिथिला नगरपालिका–६ बस्ने महतोलाई फरार भएको १० घण्टामा नियन्त्रणमा लिइएको हो ।
हिजो राति विभिन्न मुद्दामा पक्राउ परी क्षीरेश्वर नगरापालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका अभियुक्तहरू थुनुवा कक्षको पर्खाल फोडेर भागेका थिए ।
फरार भएकामध्ये पाँच जना भने अझै पक्राउ परिसकेका छैनन् । प्रहरीका अनुसार क्षीरेश्वर नगरपालिकाका लागुऔषध मुद्दाका अभियुक्त ३० वर्षीय विनोदकुमार शर्मा, राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय अमित मण्डल, राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय रोशन यादव पक्राउ परेका छैनन् । त्यस्तै मिथिला नगरपालिका–२ बस्ने अभद्र व्यवहार मुद्दाका २५ वर्षीय हरिदीप सिंह र सोही नगरपालिका–६ बस्ने हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह अझै फरार छन् ।
प्रहरीले फरार भएकाहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको छानबिनको लागि प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

Comments are closed.