राजबहादुर मल्ल हत्याका आरोपी पदमबहादुर रावत पक्राउ

काठमाडौं । कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावत पक्राउ परेका छन् ।उनलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले पक्राउ गरेको पुष्टि गरे । ४ दिनअघि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरे पनि आजसम्म घटनालाई गोप्य राखिएको थियो ।
यो प्रकरणमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ । तर आरोप लागेका ६ जनामध्ये अन्य कसैलाई पनि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।
अन्य आरोपीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ ।२६ फागुन २०६५ मा १७ वर्षीय राजबहादुरको हत्या भएको थियो । हत्याका मुख्य आरोपी हाल पक्राउ परेका टाइगर समेत भनेर चिनिने पदमबहादुर रहेको दाबी गरिएको छ ।
राजबहादुरको हत्या आरोपमा अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध ९ माघ २०८० मा दोस्रो पटक पक्राउ पूर्जी जारी भएको थियो । यसअघि १३ साउन २०७९ मा पनि पक्राउ पूर्जी जारी भएको थियो ।
पञ्चा सिंहसँगै हाल पक्राउ परेका पदमबहादुर, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
के थियो घटना ?
कालीकोटका राजबहादुर सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा पढ्दै थिए । कालीकोटकै पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएका उनी उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका थिए ।
विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव थिए । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो ।गाउँमा आफूसँगै ६–७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएको भन्दै राजबहादुरले त्यसको विरोध गरेको र सोही विवादका क्रममा छोराका ज्यान गएको बुवा नन्दबहादुरको दाबी छ ।
राजबहादुरको २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
नन्दबहादुरले छोराको हत्यामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका नेता–कार्यकर्ताहरूको संलग्नता देखिएको भन्दै १३ साउन २०७९ मा पूरक जाहेरी दिएका थिए । दैलेखका थप दुई जनाको भने पहिचान नखुलेकाले जाहेरीमा नाम राखिएको थिएन ।
May be a doodle

Comments are closed.