छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ

 

काठमाडौं, १५ माघ

सिरहा, नवराजपुर गाउँपालिका-२ मझौराबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३२ ग्राम ४ मिलिग्राम, १ थान तौल गर्ने मेसिन र नगद ४ हजार ८ सय ८५ रुपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश यादव समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ओम प्रकाशले आफ्नै घरमा उनीहरूसँगै ब्राउन सुगर सेवन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ हो । प्रहरीले जाँच गर्ने क्रममा ओम प्रकाशको साथबाट करिब २६ ग्राम ४३ मिलिग्राम र सोही ठाउँ बस्ने २५ वर्षीय देव कुमार यादवको साथबाट ५ ग्राम  ६१ मिलिग्राम उक्त लागूऔषध फेला पारेको हो ।

यसैगरी सिरहा, गोलबजार नगरपालिका-६ गोलचोकबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम १ सय मिलिग्राम र १ हजार दरको २ थान नक्कली नोट सहित सोही नगरपालिका-१२ बेतौना हरीपुर बस्ने २७ वर्षीय सुमित कुमार सिंहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

झापा दमक नगरपालिका-१ कुमाल चोकस्थित लाफा होटलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ९ ग्राम सहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३२ वर्षीय विर बहादुर लिम्बु समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो होटलमा अवैध लागूऔषध ब्राउन सुगर बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित सोही नगरपालिका-६ पुरानो भन्सार छेउ बस्ने ३० वर्षीय प्रल्हाद कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बैतडी, दशरथ नगरपालिका-८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषध चरेश २ सय ८० ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय नारायण सिंह थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.