पुरानो गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको हुं :प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली विशेषताको समाजवादको विषयमा खुल्ला बहस हुनुपर्ने बताउनुभएको छ ।
मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै दाहालले समाजवादी मोर्चाको उद्देश्य पनि त्यही भएको बताउनुभयो । सोही उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको दाहालले स्पष्ट पार्नुभयो ।
दाहालले सबै देशभक्त र समाजवादी शक्ति एक ठाउँमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विगतमा तिता मिठा अनुभवबाट पाठ सिकेर सबै देशभक्त र प्रगतिशील शक्ति एक ठाउँमा आउनु पर्नेमा उहाँले जोड दिनुभयो । यसलाई आमजनतामा प्रभाकारी ढङ्गले प्रवाह गर्नुपर्ने बताउनुभयो ।
आफूले थुप्रै चुनौतीका बिचबाट सुशासन, सामाजिक, न्याय र समृद्धिका लागि काम सुरु गरेको दाहालले बताउनुभयो । पुरानो गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको उहाँले जानकारी दिनुभयो । जुन वेगको साथ जानु पर्ने हो विगतका गठबन्धनबाट सम्भव नभएपछि आफू यस्तो निर्णय लिएको उहाँले बताउनुभयो । ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पुरा गर्न जुन गतिका साथ जानुपर्थ्यो, त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ’ उहाँले भन्नुभयो ।
आफूले प्रधानमन्त्रीको निम्ति नभएर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि यो कदम चालेको उहाँले बताउनुभयो आफूले जोखिम मोलेरै यो निर्णय गरेको प्रष्ट पार्नुभयो ।
समाजवाद जनताले जन्माउने बताउँदै दाहालले समाजवाद सडकबाटै जन्मने बताउनुभयो । समाजवाद स्थापनाको लागि संसद्, सडक र जनताको बिचबाट अभियान चलाउनु पर्ने उहाँले धारणा राख्नु भयो ।

Comments are closed.