सत्ता गठबन्धन उल्टाउने कोसिस भइरहेको छ: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

आइतबार चितवनको भरतपुर महानगरपालिकाका– ३ मा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले प्रमुख प्रतिपक्ष नेकपा एमाले गठबन्धन उल्टाउने प्रयत्नमा लागेको बताउनुभयो । एमालेलाई गठबन्धनले गरेको राम्रो कामको कारण कहिल्यै पनि सरकामा फर्कन नपाइने हो कि भन्ने चिन्ता रहेको उहाँले सुनाउनुभयो ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफ्नो सरकारले काम गरेको उहाँले दाबी गर्नुभयो । अहिले धेरै क्षेत्रमा सुधार भएको उहाँले सुनाउनुभयो । त्यो देखेर एमालेलाई छटपटी सुरु भएको प्रचण्डले बताउनुभयो । ‘फेरि कहिल्यै सरकारमा फर्किन पाइँदैन कि भनेर एकथरी चिन्तित छन्’, प्रचण्डले भन्नुभयो ।

के गरी गठबन्धन कमजोर बनाउने भनेर एकथरी मानिस छटपटाएका उहाँले बताउनुभयो । कोशी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर विभाजन ल्याउने खेल भएको उहाँको भनाई छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबिचको समझदारीले त्यो षडयन्त्र समाप्त भएको उहाँले बताउनुभयो । ‘कोसी प्रदेशमा गठबन्धनले राम्रो गरेको देख्न नसकेर एक थरी मानिस खेल खेल्न सकिन्छ कि भनेर कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भनेर योजना अन्तर्गत काम गरे, तर कांग्रेस सभापति शेरबहादुर देउवा, शेखर कोइराला र म बिच समझदारी गरेर त्यो खेल अन्त्य गरिएको छ’, उहाँले भन्नुभयो ।

Comments are closed.