‘तुल्सी थापा स्मृति सम्मान २०८०’ बाट प्रा. डा. मुकेशकुमार चालिसे सम्मानित

मकवानपुर, । पहिलो पटक ‘तुल्सी थापा स्मृति सम्मान २०८०’ बाट प्रा. डा. मुकेशकुमार चालिसे सम्मानित हुनु भएको छ ।

बुढ्यौली साहित्यका सङ्ग्रह ‘मानिला मान्छेका धामा’, ‘पाका मान्छेका कुरा’, ‘डाँडामाथिका जून’ जस्ता कृतिका कृतिकार चालिसे बुढ्यौली साहित्य उन्नयनमा सक्रिय व्यक्तित्व चालिसे रु. २५ हजार नगद राशि र सम्मानपत्रसहित सम्मानित हुनु भएको हो ।

कार्यक्रममा बुढ्यौली साहित्य समाजका अगुवा कृष्णमुरारी गौतम ‘चट्याङ्‍मास्टर’ को प्रमुख आतिथ्यता र बु्ढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आर.सी. रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा हेटौँडा नगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल र जनककुमारी चालिसेको विशिष्ट आतिथ्यता रहेको थियो ।

सम्मान ग्रहण गर्दै सम्मानित व्यक्तित्व डा. चालिसे ६० वर्ष नाघेका मान्छेहरू पाका मान्छेहरू ज्ञान र सीप भएका मान्छेहरू हुन् भन्नुभयो । पाका मान्छेहरूलाई पहिले र अहिले हेरिने दृष्टिकोणमा परिवर्तन आएको र आजकाल उनीहरूको हेलत्व भएको बताउनुभयो । साथै उहाँले पाका मान्छेहरूलाई हुन सक्ने रोग अनि समाजमा भइरहेको विभेदलगायतका विषयलाई उजागर गरेर बुढ्यौली साहित्यका किताबहरू लेखिएको जानकारी गराउनुभयो ।

यस्तै आर.सी. रिजालद्वारा स्थापित तोयनाथ स्मृति सम्मान २०८० बाट अगुवा साहित्य सर्जक माधव भण्डारी रश्मी सम्मानित हुनु भएको छ । रु. १० हजार नगद राशि र सम्मानपत्रसहित उहाँ सम्मानित हुनु भएको हो ।

स्वर्गीय साहित्यकार तुल्सी थापाकी बहिनी बेली थापाले ‘तुल्सी सर’ को व्यक्तित्वबारे बोल्दै उहाँको सम्झनामा रचना वाचन गर्नुभयो । उहाँले थापा परिवारबाट १ लाख ७० हजार नगद रुपैयाँ बुढ्यौली साहित्य समाजका लागि सहयोग प्रदान गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष रिजालले भन्नुभयो- बुढ्यौली साहित्य समाजले तुल्सी सरलाई जीवित हुँदा नै सम्मान गरेको र बिरामी अवस्थामा उपचारका लागि सहयोग गरेको सम्झँदै बुढ्यौली उमेरका मानिसहरूलाई माया, प्रेम, सहयोग जीवन हुँदा नै गर्नका लागि लागि अनुरोध गर्नुभयो । उहाँले यस संस्थाका लागि मधु ढुङ्गाना, चन्द्रकिरण श्रेष्ठलगायत विभिन्न दाताहरूको सहयोग रहेको बताउनुभयो ।

मन्तव्यका क्रममा चट्याङ्‍ मास्टरले उमेर, ज्ञान, विवेकले श्रेष्ठ व्यक्तित्व नै ज्येष्ठ नागरिक वा बुढ्यौली नागरिक भएको बताउनुभयो । साथै उहाँले देशमा युवाहरूको सङ्ख्या कम हुँदै गएको र तुलनात्मक रुपमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएकोले १२ जिल्लामा बुढ्यौली साहित्य समाज गठन गरेर बुढाबुढीका लागि बुढाबुढी मात्रै नभई युवा र बालबालिकाले समेत यस साहित्यिक समूहमा जोडिनु आवश्यक भएको बताउनुभयो ।

प्रमुख अतिथि चट्याङ्‍ मास्टरलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा वडा अध्यक्ष सिग्देल, सम्मानित व्यक्तित्वहरूले आ-आफ्नो मन्तव्य राख्नु भएको कार्यक्रममा सर्जकहरू सुदर्शन अधिकारी, पुरूषोत्तम आचार्य, स्वस्तिका दहालले रचना वाचन गर्नुभयो ।

यस्तै दोस्रो अधिवेशनमा पुनः आरसी रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । नव गठित कार्यसमितिमा राजकुमार लामिछाने उपाध्यक्ष, सुवास खनाल सचिव, अनिता न्यौपाने कोषाध्यक्ष, जनार्दन खनाल सहसचिव रहनु भएको छ भने सदस्यद्वयमा सुदर्शन अधिकारी र रमेशमोहन अधिकारी रहनु भएको छ ।

 

Comments are closed.