बालोन डी’ओरको मनोनयन सार्वजनिक, २० वर्षपछि रोनाल्डो परेनन्

काठमाडौं : यस वर्षको बालोन डी’ओर अवार्डका लागि खेलाडीहरुको सर्ट लिस्ट सार्वजनिक गरिएको छ । आयोजक फ्रान्स फुटबल म्यागजिन मनोनयनमा परेका पुरुष तथा महिला खेलाडीहरुको नाम सार्वजनिक गरेको हो।

घोषित सर्ट लिस्टमा अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी मनोनयनमा परेका छन्। मेजर लिग सकरमा इन्टर मायामीबाट खेल्ने सात पटकका बालोन डी’ओर विजेता मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलो पटक गत डिसेम्बरमा कतारमा सम्पन्न विश्वकपको उपाधि जिताएका थिए। पाँच पटक अवार्ड विजेता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो २० वर्षपछि पहिलो पटक मनोनयनमा पर्न सकेनन्।​

यूइएफए वर्ष खेलाडी विजेता म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे पनि सर्ट लिस्टमा परेका छन्।​

ट्रेबल विजेता म्यानचेस्टर सिटीबाट कीर्तिमानी गोलकर्ता हालान्डसहित केभिन डे ब्रुइन, रुबेन डायस, विश्वकप विजेता जुलियन अल्भारेज, बर्नार्डो सिल्भा, रोड्री र जोस्को ग्वार्डियोल मनोनयनमा परेका छन्।

विगत दुई वर्षदेखि महिला अवार्ड जित्दै आएकी बार्सिलोनाकी एलेक्सिया पुटेलास भने यस वर्ष मनोनयनमा परिनन्। चेल्सीकी साम केर र पीएसजीकी काडियाटो डियानीसहित बार्सिलोनाकी आइटाना बोनमाती महिला तर्फको मनोनयनमा परेका छन्। यो वर्षको बालोन डी’ओर अवार्ड अक्टोबर ३० मा प्रदान गरिने छ ।

Comments are closed.