काठमाडौं । काठमाडाैं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।
२९औं महानगर दिवसको सन्दर्भ पारेर मंसिर २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको महानगरकाे स्वास्थ्य विभागले मंगलबार निकालेकाे सूचनामा उल्लेख छ ।
(चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाइने विभागले जनाएकाे छ ।
त्यस्ता पदार्थ कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने चेतावनी समेत विभागले दिएकाे छ । ‘हामी स्वस्थ्य सहर निर्माणको अभियानमा छौं, २९औं महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्याउने सूर्तीजन्य बस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौं’- सूचनामा लेखिएकाे छ ।
काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था रहेकाे र ऐनको दफा ४२ अनुसार सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था रहेकाे विभागले जनाएकाे छ । सूर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइसाथ कार्यान्वयन गर्न लागिएको पनि विभागले जनाएकाे छ ।
विभागका अनुसार ऐनले सार्वजनिक ठाउँहरुको चारकिल्ला तोकेर त्यस वरपर सूर्तीजन्य र जंक फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ ।
सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यस सम्बन्धी व्यवस्था रहेकाे विभागले स्मरण गराएकाे छ । २०६८ सालमा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थलहरु (शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायतका स्थलहरुमा धुम्रपान, चुरोट, विँडी, सिंगारू तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा) सूर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरेको छ ।
आजदेखि १५ दिनपछि महानगरका क्षेत्रभित्र बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएकाे पनि सूचनामा उल्लेख छ ।
Comments are closed.