साफ च्याम्पियनसिपमा लेबनानद्वारा बंगलादेश पराजित

काठमाण्डौं । लेबनानले १४ औं संस्करणको साफ च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ.

समूह बी अन्तर्गत बिहीबार भारतको श्री कान्तेराव स्टेडियममा भएको पहिलो खेलमा खेलमा बंगलादेशलाई २-० गोलले पराजित गर्दै लेबनानले विजयी शुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७९ औं मिनटमा हसान मातोउकले पहिलो गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको अतिरिक्त समयको छैठौं मिनटमा कालिल बादेरले गोल गर्दै लेबनानलाई २-० को जित दिलाए ।

यस जितसँगै पहिलो खेलबाट ३ अंक जोड्न सफल लेबनान समूह बी को शिर्ष स्थानमा रहेको छ ।

यता पराजयबाट प्रतियोगिताको शुरुवात गरेको बंगलादेश समूहको चौंथो स्थानमा छ ।

यसै समूहको दोश्रो खेलमा आज नै भुटान र भल्दिभ्सबिच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबिचको खेल कान्तेराव स्टेडियममा नेपाली समयानुसार राति ८ बजे शुरु हुनेछ ।

Comments are closed.