काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले एमाले र एमाले नेतृत्वप्रति अनेक आराेप लगाउनुभएकाे छ ।
बुधबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाउनुभयाे । आफूले ५ दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको उहाँले बताउनुभयाे ।
देश र जनताको सर्वोपरि हितका लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको रावलले बताउनुभयाे । ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन्’- उहाँले भन्नुभयाे ।
एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आराेप पनि रावलले लगाउनुभयाे ।
आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको आराेप उहाँले लगाउनुभयाे । ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?’- रावलकाे प्रश्न थियाे ।
पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि एमालेले गरेको कारबाही दलको विधान, विधि र प्रक्रिया अनुरुप नरहेको दाबी उहाँले गर्नुभयाे ।आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आम जनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्ने उद्घाेष पनि रावलले गर्नुभयाे ।
एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप पनि उहाँले लगाउनुभयाे ।
रावलले ठूला भनिएका दलहरु सिद्धान्तहीन, गन्तव्यहीन, आर्दशहीन बाटोतर्फ गइरहेको बताउनुभयाे । सत्तामा रहेकाहरु नै बाहिरी हस्तक्षेप निम्त्याउने उपकरण बनेका उहाँले आराेप लगाउनुभयाे । ‘ठूला भनिएका दलहरु सिद्धान्तहीन, गन्तव्यहिन र आर्दशहिन बाटोमा लागेका छन्, जसरी जो सँग भएर मिलेर पनि पद, हत्याउने होडबाजी चलिरहेको छ, अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीति अत्यन्त फितलो र लज्जासपद बनाइएको छ’- उहाँले भन्नुभयाे ।
असमान सन्धि सम्झौंताको भारी निरन्तर बढ्दै गइरहको भन्दै रावलले राष्ट्रिय सम्पति र सीमा धेरै नै असुरक्षित बनिरहेको बताउनुभयाे ।
Comments are closed.