अझै खुल्न सकेन नारायणगढ-मुग्लिन सडक, यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध

काठमाडौँ । पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक बिहीबार दिउँसो देखि बन्द छ । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि उक्त सडक बन्द भएको हो ।
त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय (मुग्लिन) का प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ/सात घन्टा लाग्ने बताए । ‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन’, तामाङले भने ।
पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुन सकेन । पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ । सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् । काठमाडौँबाट भरतपुरतर्फ गएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।

Comments are closed.