‘लघुकथा विमर्शन’ नामक कृतिका कलमकार चितवनलाई मुकाम बनाउँदै आएका लक्ष्मण अर्याल हुन् । उनै लक्ष्मण अर्यालले चितवनबाट विश्वनाथ खनालको बुइ चढाएर यो कृतिकोसेली मलाई पठाइदिएका हुन् । यसरी मलाई नै सम्झेर पठाएको स्वादको अन्तर्य कही नसक्नुको हुन्छ । कृतिकार अर्याललाई जहाँसम्म मैले लेखनी र बिसौँनीमा चिनेको छु, उनी नेपाली लघुकथा चिनेका सर्जक हुन् । पढाइले, कर्मले, कृत्यले तथा चाहनाले लघुकथाका स्रष्टा, द्रष्टा तथा सिद्धान्तका कलमकार पनि हुन् । सहिद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर, चितवनमा प्राध्यापन क्षेत्रलाई कर्मस्थल बनाएका अर्याल लघुकथा साहित्यका साधक हुन् ।
भन्ने गरिएको पाइन्छ कि नेपाली लघुकथाको परिदृश्यमा सर्जकको सङ्ख्या ह्वात्तै बढेको छ । यो विषयलाई लिएर एकथरी कुलिन विद्वान तथा पाठकहरू चिन्ता प्रकट गर्दछन् । यद्यपि ती विद्वान तथा पाठकले ती कृतिहरू पढेको नहुन पनि सक्छ । कुनै पनि कृति नपढी कृतिमाथि सामुहिक रूपमा सकारात्मक वा नकारात्मक विचार प्रक्षेपण गरिहाल्नु नेपाली विद्वत् जगत्को मूल प्रवृत्ति पनि हो । किनभने नेपाली समाज नकारात्मक प्रवृत्तिमा रमाउँछ । यसो भन्दाभन्दै पनि नेपाली लघुकथा संसारमा लघुकथाकारहरू आत्मरतिमा रमाउनु पर्ने कुनै कारण नै छैन । किनभने किताब जन्माउने कि कृति जन्माउने भन्ने बहसलाई नाजायज मान्न पनि मिल्दैन ।
अर्का थरी यसरी हुँदै आएको सङ्ख्यात्मक विकासलाई सकारात्मक रूपमा हेर्दछन् । सङ्ख्यात्मक वृद्धिबाट गुणात्मकमा फड्को मार्ने पद्दति विज्ञानसम्मत नै हो । एकै पल्ट गुणको हाउगुजी देखायो भने नवोदित स्रष्टा मर्न सक्छ । त्यसैले सङ्ख्यात्मक भित्रको गुणात्मक साधना नै गुणवत्ता सिर्जनाको आधार हो । विषय र बुनौटप्रतिको चिन्तन र मननको तह परिस्कारका लागि साधना महत्वपूर्ण हुन्छ । साधनाका लागि सङ्ख्या महत्त्वपूर्ण हुन्छ । क्रमिक रूपमा आफूलाई परिमार्जन गर्दै सङ्ख्यात्मकबाट गुणात्मकमा रूपान्तरण गर्नु विकासको चरण हो । यसो भएता पनि वर्तमान नेपाली लघुकथा लेखनका सन्दर्भमा स्थापितदेखि लिएर नवोदित नेपाली लेखकहरूले लघुकथाका बारेमा जानेर÷नजानेर अपरिवर्तनीय चेष्टा बोकेको भने देखिन्छ । प्रारम्भिक चरणमा लघुकथा नबुझी लेख्न थाल्नु स्वाभाविक पनि हो । किनकि स्रष्टाले असीमित ज्ञानको उडान भर्न सक्ने अधिकार राख्दछ । तर गुणात्मक परिवर्तन हुने बेलामा पनि अपरिवर्तनीय चेष्टा बोकेर बस्नु चाहिँ लघुकथाको गुणात्मक विकासको लागि बाधक हो । यही अपरिवर्तनीय चेष्टाले नेपाली लघुकथाको स्तर खस्काएको छ । यति कुरा भने भन्न सकिन्छ ।
यसो हुनाका कारण छन् । आख्यानको पछिल्लो प्रविधा हो लघुकथा । विश्व साहित्यमा लघुकथाका सन्दर्भमा अलगअलग खालका सिद्धान्त बनेका छन् । देश, भाषा, परिवेश तथा सन्दर्भपिच्छे लघुकथाको स्वरूपमा भेद देखिन्छ । नेपाली लघुकथाका सन्दर्भमा पनि अघिल्लो पुस्तादेखि पछिल्लो पुस्तासम्मले निकै बहस, छलफल तथा विमर्शन गरेर नेपाली मानक तयार भइरहेको अवस्था छ । सिद्धान्तका पुस्तक प्रकाशित भएका छन् । विद्यावारिधि तहसम्मका अनुसन्धान भएका छन् । एउटा मानक गोहो समातिसकेको छ । अझै पर्याप्त छैन, त्यो अर्कै विषय हो । अब सबै मिलेर सिद्धान्तका हिसाबबाट, सिर्जनाका माध्यमबाट, द्रष्टाका दृष्टिबाट, पाठकका पठनबाट त्यही गोहोलाई पन्पाउन सकियो भने नेपाली लघुकथामा गुणात्मक फड्को मार्न समय नै लाग्दैन । तर स्थापित भनिएकादेखि लिएर लपसिक्खासम्म ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर हलो अड्काएको वर्तमानको विपर्यास अवस्थाको क्षणमा लक्ष्मण अर्यालको यो ‘लघुकथा विमर्शन’ नामक कृति प्रकाशित भएको छ । यही विपर्यास अपर्याप्तताका परिवेशमा लघुकथाशिल्पीहरूलाई प्रायोगिक सहयोगी भएर यो कृति जन्मिएको छ ।
अब लागौँ पुस्तकतिर । पुस्तक वाल्मिकि साहित्य सदनले २०७८ सालमा प्रकाशित गरेको छ । पुस्तक जन्मदा समालोचना विधा नाममा आएको छ । प्रकाशकीय लेख्ने क्रममा प्रशिद्ध निबन्धशास्त्री तथा साहित्यकार रामबाबु घिमिरेले लेखेका छन् — एउटा विद्वान, लघुकथाका लेखक र गहन अध्येताबाट लेखिएको प्रस्तुत विमर्शनकृति नेपाली लघुकथाको सैद्धान्तिक र प्रायोगिक विश्लेषणका क्षेत्रमा आजसम्म लेखिएका अब्बल दर्जाका दुईचार कृतिमध्ये एक हो ।
२०२६ साल साउन १५ गते जन्मिएका अर्यालले ‘टुटी काण्ड’ र ‘औँला’ लघुकथासङ्ग्रहहरू प्रकाशन गराइसकेका छन् । सर्जक हुन् यो मानेमा । सम्पादनका क्षेत्रमा कलम कुदाइरहेका छन् । सम्प्रेषण हो नमुना । र, मैले चिनेका लेखक लक्ष्मण अर्याल साहित्य साधनामा खासगरी लघुकथाभिमुख कृत्यमा तल्लीन छन् । रमण गर्दैछन् । लघुकथाको क्षेत्रका कलमकार हुन् । नेपाली लघुकथाको सिद्धान्तचिन्तक, स्रष्टासर्जक, द्रष्टादृष्टि भएका गतिशील तर अन्तरमुखी हुन् । तर छुपेरुस्तम चाहिँ होइनन् ।
चिन्तन÷मनन र लेखनको क्रम पूरा गरी प्रकाशन भएको यो पुस्तक नेपाली लघुकथा अनुरागीका लागि ह्यान्डबुक हो भन्दा अर्घेलो हुन्न सायद । पुस्तकले लघुकथाको विविध अवयवहरूमा सूत्रात्मक र सदृष्टान्त अवधारणा प्रस्तुत गरेको छ । नेपाली लघुकथाका पूर्वप्रकाशित सिद्धान्तका कृतिहरूभन्दा केही नयाँ विशेषता बोकेर आएको छ । पुस्तकभित्र विविध शीर्षक तथा परिशिष्ट समेत १८ ओटा पाठ छन् । लगभग १२ वटा पाठ लघुकथाको सिद्धान्त निरुपणमा प्रयुक्त भएको छ । ५ वटा पाठमा केही लघुकथाको समालोचना गरिएको छ । र अन्त्यमा, अनुसन्धानको सिद्धान्तबमोजिम परिशिष्ट छ ।
भित्र पसेर विशेषता केलाउँदा पुस्तकमा प्रमुख विशेषताहरू देखिन्छन् । प्रथमतः लेखक अर्यालले स्वदेशी तथा विदेशी विद्वानहरूका विविध परिभाषाहरूलाई साक्षी राखेर लघुकथाको चिनारी गराउने प्रयत्न गरेका छन् । लघुकथाको परिभाषाहरूको सार खिच्दै एउटा मानक परिभाषा दिन प्रयत्न गरेका छन् । सार परिभाषा यस्तो छ ः
— कम्तीमा दुई घटना समाविष्ट भएको विचार र भावसघनतामा वेष्ठित, चामत्कारिक भाषा शैलीमा लेखिने, जीवनभोगाइका आरोहअवरोहहरूबाट घटना टिपिएको, विकृति, विसङ्गति र समाजका बिप्ल्याँटा परिस्थिति विरुद्धको आवाज प्रखर भई आउने आख्यान विधा अन्तरगत पर्ने तीन सय शब्दको आसपासमा केन्द्रित त्यो सूक्ष्मतम प्रभेद लघुकथा हो जसमा पठनपश्चात् मानव मस्तिष्कलाई धेरै वेरसम्म झङ्कृत र तरङ्गित बनाइरहने सामथ्र्य हुन्छ ।
माथि प्रयुक्त परिभाषामा कम्तीमा दुई घटना वा कथानक, ३०० शब्दको हाराहारी तथा समापनमा मानवमष्तिष्कलाई झङ्क्रित बनाउने भनिएको छ । यद्यपि शब्दसीमा भनिने कुरा चाहिँ कथाले मागेअनुसार हुने हो । त्यसो भन्दा पनि ३०० शब्द मानक लघुकथाका लागि आवश्यकभन्दा बढी हो भन्ने कुरा मेरो अनुभवलाई लाग्छ ।
लेखक लक्ष्मण अर्याल आफैँले पनि लघुकथाको अर्थ र परिभाषालाई एउटा पाठ नै खर्चिएर छोटो परिभाषा दिएका छन् । उनका भनाइमा आख्यानमा बोन्साइ भनेको सूक्ष्म कायाभित्र परिपूर्ण आख्यानको स्केच खिच्नु हो ।
लघुकथालाई बोन्साइसँग तुलना गरेर मीठो दृष्टान्त प्रस्तुत गरिएको छ । अनियन्त्रित झ्याङलाई ट्रिमिङ गरेर सुन्दर स्वरूप बनाउनु बोन्साइ हो भने असरल्ल भावना तथा शब्दहरफलाई एउटा खास आकारमा मिलाएर प्रस्तुत गर्नु लघुकथा लेखन हो । लघुकथालाई सुन्दर बोन्साइको प्रारूप र निर्माण प्रक्रियासँग तुलना गरेर आकारीय तथा दृश्यगत हिसाबमा पनि सुन्दर सिर्जनाको परिकल्पना गरिएको छ पुस्तकमा । जसरी सुन्दर बोन्साइको निर्माणमा ट्रिमिङ अतिआवश्यक हुन्छ त्यसैगरी लघुकथाको निर्माणमा पनि सुन्दर ट्रिमिङ जरुरी हुन्छ भन्ने कुरा अभिव्यक्त गरेर कृतिको शुभारम्भ गरिएको छ ।
प्रायोगिक रूपलाई मध्यनजर गरेर लघुकथामा प्रचलित गुत्थीहरूलाई फुकाउने भरमग्दुर प्रयत्न गरिएको छ । पुस्तकले वर्तमान नेपाली लघुकथाको वृत्तमा रहेका झमेलाहरूलाई छिमल्ने प्रयत्न गरेको छ । र, लघुकथाको स्वरूपका बारेमा सार खिचिएको छ । यो नै कृतिको मूल थिम हो ।
यो कृतिले लघुकथाका बारेमा आख्यान विधा तथा प्रविधामा विभाजन गरेर लघुकथावृत्तमा रहेको असमन्जस्य तथा दुबिधालाई हटाउन भरमग्दुर प्रयत्न गरेको छ । लघुकथाको छोटो कायालाई हेरेर छोटाकथालाई नै लघुकथा मान्ने प्रचलन वर्तमान नेपाली लघुकथाको संसारमा विद्यमान छ । राष्ट्रिय भनिएका पत्रिकादेखि लिएर बग्रेल्ती खुलेका सामाजिक सञ्जाल तथा पुरस्कार प्रदत्त गर्ने संस्थाहरूले छोटाकथालाई नै लघुकथा मानिने कुरामा दुर्भाग्यवश मलजल पनि गरिरहेकै छन् । यसरी नेपाली लघुकथाका क्षेत्रमा छोटाकथालाई नै लघुकथा मानेर लेखिने तथा पढिने गरेको वर्तमान अवस्थामा लेखक अर्यालले लघुकथाको मर्मभित्र पसेर छोटाकथा र लघुकथाको भेद खुट्याएका छन् । उनी भन्छन् कि कथा र छोटा कथा आकारीय भेद हुन् तर लघुकथा आख्यानको छुट्टै प्रविधा हो । यो पुस्तकले जेहाद छेडेको कुरा भनेको आख्यान विधाको प्रविधा उपन्यास, कथा र लघुकथा हुन् भन्ने हो । उपन्यास प्रविधामा लघु उपन्यास, मझौला उपन्यास, उपन्यास तथा वृहत् उपन्यास भन्नु उपन्यासका आकारगत भेद हुन् । भने कथामा पनि छोटाकथा, मझौला कथा, कथा तथा लामो कथा भन्नु कथाको आकारगत भेद मात्र हुन् । कथाको आकारगत भेद होइन लघुकथा । लघुकथा आख्यानको छुट्टै प्रविधा हो । लघुकथा भनेको छोटो कथा होइन । लघुकथालाई लम्ब्याएर छोटाकथा वा कथा पनि बन्दैन । कथालाई छोट्याएर लघुकथा पनि बन्दैन । यो कुरा लघुकथा लेखकले हेक्का राख्ने कुरा हो । पुस्तकको मूल सन्देश पनि यही हो ।
लघुकथा र अन्य विधाका बिचमा रहेको सम्बन्ध र असम्बन्धलाई पनि पुस्तकभित्र छिमल्ने प्रयाश गरिएको छ । स्वाभाविक छ कि कुनै पनि विधा एकअर्कासँग केही बँुदामा समानता राख्छन् तर केही असमानता पनि हुन्छन् । त्यसैले ती एकआपसमा समान पनि छन् । फरक पनि छन् । लेखक अर्यालले यो पुस्तकमा लघुकथालाई विविध विधासँग तुलना गरेर लघुकथाको विशिष्ट स्वरूप निर्धारण गरेका छन् । यस सम्बन्धमा लघुकथा लेखनको उपकरणका बारेमा चर्चा गरिएको छ । विषयवस्तुलाई आधार उपकरण मानिएको छ । याने विषयवस्तु नभै लघुकथा निर्माण हुने सबाल नै भएन । कथानक, पात्र, परिवेश, उद्देश्य, शैली, दृष्टिविन्दु आदिलाई प्रमुख उपकरण भनिएको छ । विषयवस्तुलाई प्रस्तुत गर्न कथानकको निर्माण, कथानक बोक्न पात्र—व्यवस्थापन, कथानक प्रस्तुत गरिने कारण याने उद्देश्य, लेखकको कथा भन्ने शैली तथा कथाको वक्ता आदि नभै लघुकथाको निर्माण नै हुन्न । त्यस कारण लेखक अर्यालले यी तत्त्वलाई प्रमुख उपकरण अन्तरगत राखेका छन् । यसैगरी सम्वाद, द्वन्द्व, शीर्षक आदिलाई अन्य सिँगार्ने उपकरणका रूपमा वर्गीकरण गरिएको छ ।
हो मैले पनि भन्दै लेख्दै आएको कुरा हो कि सबै खाले घटनाबाट लघुकथाको कथानक निर्माण हुँदैन । लघुकथाका कथानकका लागि उपयुक्त घटनाको चयन लघुकथाकारको पहिलो सर्त हो भन्ने अति आवश्यक कुरा यो पुस्तकमा समावेश गरिएको छ । त्यसैले यो पुस्तकको लघुकथा लेखकलाई सन्देश भनेको कथावस्तु छनौटमा विशेष ध्यान दिनु पर्छ भन्ने हो ।
त्यसै गरी प्राडा मोहनराज शर्मालाई अघि सारेर भनिँदै आएको कुरा हो लघुकथामा दुई वा दुईभन्दा बढी घटना हुनुपर्छ । मोहनराज शर्माकै शब्दमा — एउटा मात्र स्वतन्त्र घटनाबाट कथानकमा चरम (क्लाइमेक्स) उत्पन्न हुँदैन । त्यसका लागि दुई वा दुईभन्दा बढी स्वतन्त्र घटनाहरू चाहिन्छन् । कम्तीमा दुई वटा स्वतन्त्र घटनाहरूको चाप वा दवावबाट चरम सिर्जित हुन्छ । यसो नहुँदा कथानक अपुरो भई लघुकथा नै असफल हुन्छ ।
मोहनराज शर्माको यो भनाइलाई पुस्तकमा महत्त्वका साथ पस्तुत गरिएको छ । लघुकथा लेखकले यति कुरा मात्र बुझ्न सके यो सञ्जीवनी बुटी बन्ने छ ।
यो कृतिको ज्यादै महत्त्वपूर्ण पक्ष भनेको लघुकथाको बुनौटका बारेमा प्रकाश पार्नु रहेको छ । लघुकथाको उठान गर्दा ओजिलो भाषा, अव्याख्यात्मक भाषा तथा अविस्तारीय कथ्यविकासको अवधारणा अघि सारिएको छ । सपाट वर्णन नभई प्रतिकात्मकता, ध्वन्यात्मकता, आलङ्कारिक, व्यङ्ग्यात्मकता भएको ओजिलो र कसिलो भाषाको सिफारिस गरिएको छ ।
लघुकथालाई छिटो निष्कर्षमा पुर्याउनु बान्छनीय हुन्छ । यसो भएकाले उठान गरिएको द्वन्द्वलाई पनि छिटोछिटो विकास गरी अवतरण गर्नु पर्छ । कौतुहलताको सिर्जना लघुकथा लेखनको मेरुदण्ड हो । लेखक अर्याल पुस्तकका माध्यमबाट लघुकथाकारहरूलाई कथ्य अनावश्यक न तन्काउने, व्याख्या र विश्लेषण बिलकुल नगर्ने र घटनाका विवरण प्रेसित नगर्ने सल्लाह दिन्छन् ।
पुस्तकभित्र लघुकथाको पात्र, परिवेश तथा प्रयोजन व्यवस्थापनका बारेमा पनि पर्याप्त बोलिएको छ । थोरै पात्रको जिकिर गरिएको छ । लघुकथामा घटना पनि न्युन हुने भएकाले कथानक प्रकटीकरण गर्नका लागि पात्र पनि सीमित चाहिने कुरा निर्विवाद छ । परिवेश छोटो हुनु आवश्यक छ । प्रयोजन चुस्त र प्रष्ट बनाउन सके लघुकथा राम्रो बन्ने कुरा बताइएको छ ।
लघुकथा कसमार्फत् भन्ने हो ? यो कुराको छिनोफानो दृष्टिविन्दुमा हुन्छ । कि त लघुकथाकार आफैँले ‘म, हामी’ जस्ता सर्वनामलाई मुख्य पात्र बनाएर कथ्य प्रेसित गरेको हुन्छ । यस्तो अवस्थाको दृष्टिविन्दुलाई प्रथम पुरुष दृष्टिविन्दु भनिन्छ । यसैगरी ‘ऊ, तिनी, उनीहरू’ जस्ता सर्वनाम अन्य पुरुष दृष्टिविन्दु हुन् । यो कुरालाई पुस्तकमा निकै मजाले अभिव्यक्त गरिएको छ ।
पुस्तकभित्र लघुकथाको शैली याने शिल्पलाई पनि बडो मजाले व्यक्ताइएको छ । उनका भनाइमा ‘सिर्जनाका सन्दर्भमा भाषा काया हो भने शैली त्यही काया सजाउने शृङ्गार हो’ भाषा तथा प्रस्तुतिलाई भाषिक तथा बुनौट शिल्पका आधारमा सिँगार्नु शैली हो ।
लघुकथा लेखनमा सबैभन्दा चुनौतीको ठाउँ भनेको समापन हो । यो कुरा पुस्तकभित्र मजाले उजागर गरिएको छ । कथानकमा उठाएको द्वन्द्वको बैठान पनि गर्नु पर्ने हुन्छ समापनमा । कौतूहलतालाई नमारी अवतरण पनि गर्नुपर्ने हुन्छ । लघुकथाको समापन अप्रत्यासित तथा नाटकीय हुनु पर्दछ । व्यङ्ग्य प्रहार हुनुपर्दछ । किनभने व्यङ्ग्यमा जीवनको समीक्षा हुन्छ । हेक्का रहनु पर्ने कुरा भनेको व्यङ्ग्य कलात्मक भएन वा कमजोर भयो भने गाली हुन्छ । लघुकथा साहित्य भएकाले गाली बर्जित हुन्छ । यी माथिका कुराहरूलाई सम्बोधन गर्दै लघुकथाको समापन गर्दा बन्द समापन (संवृत) तथा खुला समापन (विवृत) गर्ने गरिन्छ । बन्द समापनमा लघुकथा लेखक आफैँ न्यायाधीश बन्छ भने खुला समापनमा पाठकलाई अर्थ लगाउने न्यायाधीश बन्न छोडिन्छ । यो कुरालाई कृतिकार अर्यालले सउदाहरण व्यक्त गरेका छन् । त्यसैले यो कृतिले नेपाली लघुकथा लेखकका लागि महत्वपूर्ण सहयोग प्रदान गर्ने छ ।
पुस्तकले धेरै प्रकारका विशेषताहरू अवलम्बन गरेको छ । सम्बादको महत्व, चुट्किलाबाट जोगाउनु पर्ने विषय पनि पुस्तकमा परेका छन् । लघुकथाको अन्त्यमा लघुकथाकारले बलजफ्ति अस्वाभाविक तथा असान्दर्भिक तरिकाले कौतूहलता उत्पन्न गर्ने र व्यङ्ग्य प्रहार गर्ने गरेमा त्यस्तो कृत्यले लघुकथालाई चुट्किलातर्फ उन्मुख गराउँछ । लघुकथा लेखनमा प्रतीकको महत्त्वका बारेमा पनि पुस्तक बोलेको छ । यसैगरी नेपालमा लघुकथाको इतिहासलाई पनि एक सरो छिमलेको अवस्था छ पुस्तकभित्र ।
पुस्तकभित्र रमेश विकलको ‘अपाङ्ग वर्ष’, नारायण तिवारीका ‘ठुलो रोग’ र ‘दयालु भगवान्’ माधव लामिछानेको ‘मन’ लता केसीको ‘एक्लोपन’ लघुकथाको समालोचना गरिएको छ भने विश्वनाथ खनालको ‘सहिदहरूको विरोध पत्र’ नामको लघुकथासङ्ग्रहको पूरै समालोचना गरिएको छ । र अन्त्यमा परिशिष्ट ‘१’ मा २६४ जना लघुकथाकारको नाम र कृति, परिशिष्ट ‘२’ मा अनुवाद गरिएका लघुकथाहरूको फेहरिस्त, परिशिष्ट ‘३’ मा पत्रपत्रिकाहरूमा प्रकाशित भएका लघुकथा विशेषाङ्कहरूको विवरण, परिशिष्ट ‘४’ मा सामुहिक लघुकथासङ्ग्रह, ‘५’ मा लघुकथाको सिद्धान्तका पुस्तकको नालीबेली, ६ मा लघुकथामा शोध समावेश गरिएको छ ।
पुस्तक पढिरहँदा मेरा सैतान मनभित्र क्षिद्रान्वेशी क्षुद्र कुदिरहेको छ । पुस्तकले ‘विमर्शन’ नाम बोकेको छ । विमर्शन माने सिद्धान्तमा पनि विमर्शन तथा सिर्जनाको सैद्धान्तिक पक्षमा पनि विमर्शन, पाठकीय सन्दृष्टिमा पनि विमर्शन भन्ने त बुझाउँछ । याने हरेक कोणबाट गरिने छलफल, विचार विमर्शको साहित्यिक नाम विमर्शन हो । तर यो पुस्तकभित्र पस्ता एउटा प्रश्न भने उब्जिएको छ कि यो पुस्तक लघुकथाको सिद्धान्तको हो वा समीक्षाको ? मलाई त लागेको छ कि यो पुस्तकलाई विशुद्ध सिद्धान्तको पुस्तक बनाउन पाएको भए सुनमा सुगन्ध हुने थियो । एउटा स्वादको हुने थियो । किनभने सिद्धान्त भन्नु र समालोचना भन्नु दुवै विमर्शन त हुन् तर अलगअलग स्वादका विषय हुन् । समालोचनाका लागि प्रयोग हुने औजार हो सिद्धान्त । सिद्धान्त र समालोचनालाई एकै ठाउँमा मिसाएर लेखिएकाले यो पुस्तक खिचडी जस्तो भएको हो कि भन्ने लागेको छ ।
नेपाली लघुकथा संसारमा लघुकथाको सिद्धान्तको कायाकैरन गरिएको पुस्तकको पउलता छैन । भएका एकदुई सिद्धान्तका पुस्तकमा पनि शास्त्रीय कुरा धेरै र भारीभडकम शब्द राखिएका छन् । विश्वविद्यालयको प्रयोजनलाई मध्यनजर गरेर कर्मकाण्डी तालमा लेखिएका छन् । वा सिद्धान्तका पुस्तकमा अन्य विषय पनि मिसमास गरेर प्रकाशनको सरलताका लागि लेखिएका छन् । लघुकथा लेखकका अवस्था र चुनौतीलाई कमै मध्यनजर गरिएका छन् ती पुस्तकमा । लघुकथा लेखकका लागि लघुकथामा सैद्धान्तिक रूपले खडेरी परेको बेलामा आएको यो पुस्तकले लघुकथाकारहरूलाई राहत त दिएको छ । तर पर्याप्त भने छैन । किनभने मलाई व्यक्तिगत तबरले नै लाग्दछ कि लेखक लक्ष्मण अर्यालबाट योभन्दा गतिलो लघुकथाको सिद्धान्तको पुस्तक आउन सक्थ्यो । र यही कृतिका आधारमा भन्ने हो भने कृतिकारले भने झैँ के यो कृति समालोचनाको कृति हो र ?
पुस्तकका पाठहरू विचार प्रक्षेपण तथा आकारका हिसाबले पनि लघु छन् । लघुकथाको सिद्धान्तको पुस्तक पनि भएकाले पुस्तक पनि लघु नै हुनुपर्छ भनियो भने त्यो कुरा व्यवहारिक हुन्न । तर पुस्तक भित्रका पाठ यति छोटा छन् कि तिनले तत्तत् विषयमाथि सूत्रात्मक रूपले सियो त छिराएका छन्, व्यापक प्रवेश गर्न भने सकेका छैनन् । लघुकथा लेखनमा उठान, उत्कर्ष तथा समापन गर्ने टुल्स (औजार) का बारेमा संक्षेपमा केही कुरा छन् तर घनत्व बोकको छैन । लघुकथामा विपरीत भाव कसरी प्रक्षेपण गर्ने ? समापनमा प्रतिध्वन्यात्मकता कसरी ल्याउने ?, व्यङ्ग्यलाई गाली हुनबाट कसरी जोगाउने ? खुला समापन गर्दा बनाउने झट्कालाई चुट्किला हुनबाट कसरी सुरक्षित पार्ने ? बन्द समापन गर्दा कौतूहलता खोलखाल पारेर बन्न जाने छोटाकथाबाट कसरी लघुकथालाई संरक्षित गर्ने ? जस्ता कुराहरूमा अझै पुस्तकले बोलेको भए हुन्थ्यो भन्ने लागेको छ ।
लघुकथाको इतिहासका बारेमा वर्णन गरिएको पाठमा आदिकालका लघुकथा, विकासकालका लघुकथा तथा वर्तमानकालका लघुकथाका बिचमा विकासको हिसाबले नै आएको फरकलाई देखाउन पाएको भए पनि हुन्थ्यो । यसैगरी स्वैर कल्पनामा लेखिने लघुकथाका बारेमा पनि अझै धेरै कुरा आउन सकेको भए हुन्थ्यो भन्ने लागेको छ । यसो भए लघुकथा लेखक थप लाभान्वित हुन्थे भन्ने सोच पलाएको छ ।
अब आलेखको अन्त्यतिर आइपुगेको छु । लक्ष्मण सर ! हामी सबैलाई थाहा भएकै कुरा हो कि गर्न कठिन हुन्छ, भन्न सजिलो हुन्छ । मैले त्यही भन्न सजिलो हुने पाठकीय अधिकारलाई अङ्गीकार गरेको छु यति बेला । म यति बेला त्यो पाठकको हैसियतमा उभिएको छु, जसलाई निर्माण गर्नु त छैन, तर क्षिद्रमाथि खेल्नु छ । यो कुरा सँगै भन्न मन लागेको अर्को कुरा के हो भने पूर्णताको कुनै जेनिथ हुन्न । ज्ञानको आकाशको कुनै क्षितिज छैन । कुनै मानक सत्य छैन । मानक र सत्य हामी मान्छेले आफूअनुकूल बनाएका यन्त्र हुन् । तन्त्र हुन् । त्यसैले ती व्यक्तिपिच्छे फरक र अडबाङ्गे हुन्छन् । नजरियाले फरक पारिहाल्छ मानक र सत्यलाई । हो यही सँघारमा बसेर म भन्छु कि यो तपाईँले लेख्नु भएको पुस्तक ‘लघुकथा विमर्शन’ को लघुकथाको सिद्धान्त खण्ड चाहिँ नेपाली लघुकथाको क्षेत्रमा अड्को पड्को तेलको धुप होइन । यो कृतिले लघुकथा पारखीका लागि सालधुपको महक दिइरहने छ । साँच्चै लघुकथालाई माया गर्ने, लेख्ने, पढ्ने तथा विमर्शन गर्ने सबै खाले व्यक्तित्वका लागि यो पुस्तक जेबी पात्रो हुने छ । आधुनिक भाषामा भन्ने हो भने गुगल म्याप हुने छ । र, अन्त्यमा लक्ष्मण सर ! तपाईँबाट लघुकथाको विशुद्ध सिद्धान्तको घनघच्चीको पुस्तक निसृत हुनुपर्दछ भन्ने मलाई यतिबेला लागेको छ । के गर्ने मलाई त लाग्ने त हो !
जय लघुकथा
खेमराज पोखरेल
सान मार्कोस, अमेरिका
अगस्ट १५, २०२२
Comments are closed.