डिमा एकेडेमीद्वारा अधिकृत क्याडेट सम्मानित

 

काठमाडौं, माघ २२

डिमा एकेडेमीले नेपाली सेनाको सि.सं. ६३ अधिकृत क्याडेटहरूलाई विशष कार्यक्रमबीच सम्मान गरेको छ । बागबजारस्थित होटल हार्दिकको सभाकक्षमा डिमा एकेडेमीमा प्रशिक्षण लिएर क्याडेट हुन सफल ७६ जना सैनिक अधिकृत शनिबार सम्मानित भएका हुन् । सम्मान कार्यक्रम राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै विश्लेषक केसीले नेपाली सेना देशको गौरवपूण संस्था भए पनि सुरक्षाबाहेकका सामाजिक दायित्व पूरा गर्नमा नेपाली सेना अझै चुकिरहेको बताए । ‘आफ्नै परमाधिपति राजाको मृत्युहुँदा समेत बेखबर रहेको नेपाली सेनाले यस्ता कमजोरी हटाउँदै अझै जिम्मेबार बन्नुपर्छ,’ डा. केसीले भने ।

कार्यक्रममा बोल्दै पत्रकार ऋषि धमलाले नेपालको इज्जत राख्ने एक मात्र संस्था नेपाली सेना रहेको विचार व्यक्त गरे । ‘वर्तमानमा देशको समग्र अवस्था अस्तव्यस्त छ । यस्तो अस्तव्यस्तताका बीचमा कसैले औंला उठाउन नसक्ने संस्था हो नेपाली सेना ।’ कार्यक्रममा साहित्यकार दिलीप ढकालले अस्तव्यस्ततालाई नेपाली सेनाले टुलुटुलु हेरेर मात्र नबसी आवश्यक ठाउँमा हस्तक्षेपसमेत गर्नुपर्ने धारणा राखे । कार्यक्रममा अवकाशप्राप्त महासेनानी ज्ञानहरि श्रेष्ठ, अवकाशप्राप्त प्रमुख सेनानी प्रदीप कार्की, प्रशिक्षकद्वय लोकेनविक्रम शाही तथा राघव आचार्यका साथै सज्जनराज पोखरेल र मनोज विष्टले समेत नेपाली सेनाको इतिहास र वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गरेका थिए ।

डिमा एकेडेमी विगत २३ वर्षदेखि नेपाली सेनाको अधिकृत क्याडेट तयारी गराउँदै आएको संस्था हो । यस एकेडेमीबाट प्रशिक्षणप्राप्त प्रशिक्षार्थीमध्ये २३ सय भन्दा बढी अधिकृति क्याडेट बन्न सफल भएका छन् । ६३ बेसिक अधिकृत क्याडेटमा नेपाली सेनाले जम्मा भर्ना १३० जना लिएकामा यस एकेडेमीमा प्रशिक्षण प्राप्त ७६ जना प्रशिक्षार्थी अधिकृत क्याडेट बनेका हुन् ।

कार्यक्रम एकेडेमीका प्रबन्ध निर्देशक अमिरराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments are closed.