काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जयन्ती अवसरमा तीलगंगा, संचारग्रामस्थित त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण सहित कविता वाचन गरेर देवकोटाको जयन्ती मनाइएको छ ।
देवकोटा जयन्तीका अवसरमा भएको उक्त कार्यक्रममा साहित्यकार डा तुलसी भट्टराई , त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाई र त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायतले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरेका थिए ।
साथै देवकोटाको सालीकसंगै रहेको कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गरिएको थियो ।
डा भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा।केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्राडा महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
सोही अवसरमा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरेका थिए ।
कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।
Comments are closed.