आइतबारदेखि वर्षा र हिमपातको सम्भावना बढ्ने

काठमाडाैं । नेपालमा दुई दिन मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने भएको हो ।

दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था रहने छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा शून्य दशमलव पाँच मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसैगरी, डढेलधुरामा १४ दशमलव आठ, दिपायलमा १२ तथा जुम्लामा दुई दशमलव ६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

आज र भोलि बुधबार र बिहीबारको तुलनामा मौसममा केही सुधार हुनेछ । यद्यपि, आइतबारबाट पुनः नेपालमा नयाँ प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना बढ्ने मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार आइतबारदेखि पश्चिमी वायु पुनः सक्रिय भएर स्ट्रङ हुँदा देशका धेरै स्थानमा बदली, वर्षा र हिमपात हुनेछ । पश्चिमी वायु सक्रिय भएर स्ट्रङ हुँदा वर्षा हुन्छ ।

Comments are closed.