काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राजावादीलाई राजा फेरी फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ ।
मङ्सिर ७ गते नेकपा एमालेका जनसंगठनले काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनको स्वयंसेवक भेलालाई बुधाबार सम्बोधन गर्दै बस्नेतले अब धार्मिक कथामा बाहेक नेपालमा राजा नआउने बताउनुभयो । ‘राज आउँछ माघमा, स्वस्थानी व्रत कथामा लावण्य देशको राजा आउँछ’, उहाँले भन्नुभयो ।
बस्नेतले सबै खालका अराजक शक्तिलाई तह लगाउँदै आएको राष्ट्रिय युवा संघ नेपालले फेरी एक पटक अराजक तत्त्वलाई तह लगाउने बेला आएका बताउनुभयो । ‘यसपालि अराजक र अपराधी शक्ति हाम्रो अगाडि आउने आँट नै गर्दैनन्, आए भने अचार बनाउन तपाईँहरूले जानेकै छ’, उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालमा अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने, धार्मिक हिंसा भड्काउन प्रयत्न गर्ने हिसाब पनि राष्ट्रिय युवा संघ नेपालले राख्ने उहाँले बताउनुभयो । उनीहरू जहाँ जहाँ बसे पनि एक एक हिसाब किताब राख्न बस्नेतले निर्देशन दिनुभयो ।
एमाले र केपी ओली कमजोर भएर म बलियो हुन्छु भन्ने भ्रम नपाल्न एमालेका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । मङ्सिर ७ को जनप्रदर्शन ऐतिहासिक प्रदर्शन हुने उहाँले दाबी गर्नुभयो । मङ्सिर ७ बेथिति र अराजकता विरुद्धको जनप्रदर्शनको सुरु विन्दु हुने बस्नेतले प्रष्ट पार्नुभयो ।
नेकपा एमाले देशको ठुलो पार्टी भएकोले एमालेको चाला पनि ठुलै हुने उहाँले बताउनुभयो । जाजरकोटका भूकम्प पीडितको घाउमा मलम लगाउनेदेखि काठमाडौंको सडक तताउने काम समेत एमालेले नै गर्ने उहाँले दाबी गर्नुभयो ।
Comments are closed.