बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति प्रा.डा. गोविन्द केसीको आपत्ति

काठमाडौँ । झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति प्रा.डा. गोविन्द केसीले आपत्ति जनाएका छन्।

मंगलबार डा. केसीले एक विज्ञप्ति जारी गर्दै अदालतले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो भने उक्त आदेशविरुद्ध भ्याकेटमा जाने समेत बताएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दाउपर गरेको फैसला र त्यसले सृजित हल्लाले हाम्रो ध्यानाकर्षण भएको छ। फैसालाको संक्षिप्त आदेशको प्रतिलिपि पनि अहिलेसम्म प्राप्त भएको छैन। देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन। त्यसैले ऐनप्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प रहनेछैन।’

न्यायाधीशद्वय डा. कुमार चूँडाल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन भन्दै सोमबार आदेश दिएको थियो।

मेडिकल कलेज सञ्चालनका लागि लामो समयदेखि आशयपत्र लिएर बसेको बी एण्डसी कलेजले सम्बन्धन नपाएपछि उक्त कलेजका मालिक प्रसाईँले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै रिट दायर गरेका थिए।

उनले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएका थिए। सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले सम्बन्धन दिन आदेश दिएको हो।

कलेजले १५ फागुन २०७३ मा नै मापदण्ड तथा पूर्वाधार तयार गरी एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि काठमाडौँ विश्वविद्यालयसमक्ष निवेदन दिएको थियो। सम्बन्धन नदिएपछि बी एण्ड सीले सम्बन्धनका लागि विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो।

मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा १६ बिघा जमिन, ३०० शय्याको अस्पताल, उपकरण, अस्पतालमा दैनिक विरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत आवश्यक मानिन्छ।

Comments are closed.