काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।निर्वाचन आचारसंहिता र प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत मानहानीपूर्ण अभिव्यक्ति दिएको भन्दै उजुरी परेको हो ।
आइतबार बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापा लक्षित अभिव्यक्ति दिएका थिए । निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारहरुको पब्लिक डिबेट गर्ने विषयमा चर्चा चलिरहेको छ । सोही सन्दर्भमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताएका थिए । त्यसमा बालेनले ओली र थापाप्रति लक्षित गर्दै हत्यारा र मतियार भनेर अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए- ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् । तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला १ ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
उक्त अभिव्यक्तिले निर्वाचनसम्बन्धी आचारसंहितामा खलल पुगेको भन्दै धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् ।उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।बालेन भने झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि आजै सुदूरपश्चिम ओर्लिएका छन् । सोमबार बाँकेको नेपालगञ्ज पुगेका बालेन केही दिन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा जाने कार्यक्रम रहेको छ ।








Discussion about this post