संविधान र व्यवस्था अरूको कारण नभई पुराना दलकै कारण खतरामा: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान र व्यवस्था अरू कसैको कारणले नभई नेपालकै राजनीतिक दल र नेताहरूको कारण खतरामा रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै संविधान र व्यवस्था जोगाउन भन्दा पनि राजनीतिक दलका नेतालाई आफ्ना मान्छे जोगाउने कुरामा नै चिन्ता भएको बताउनुभयो । ‘यो व्यवस्था र संविधान के अरू कसैको कारणले खतरामा छ कि, हाम्रै चरित्र र व्यवहारको कारणले खतरामा छ, व्यवस्था जोगाउन प्राथमिकता दिएको भए यो चिन्ता गर्नुपर्ने अवस्था आउँदैनथ्यो’, उहाँले भन्नुभयो ।

आफ्नो सत्ता स्वार्थको लागि मिल्ने तर पीडितलाई न्याय दिने र शान्ति प्रक्रियालाई टुङ्ग्याउने कुरामा पुराना राजनीतिक दल सकारात्मक नदेखिएका उहाँले टिप्पणी गर्नुभयो । ‘आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने, पीडितलाई न्याय दिने शान्ति प्रक्रियालाई के ले रोक्यो तपाईँहरूलाई ? कस्ले रोक्यो ? कहाँ रोक्यो ? हामी नयाँ दलले ? ल बताउनुस्’, लामिछानेले भन्नुभयो ।

अहिले पनि शीर्ष भनिएकै नेताहरूको लहडमा संसद् बन्धक हुने गरेको उहाँले बताउनुभयो । सरकाले संसद्मा उठाएका कुनै पनि कुरा सुनुवाइ नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो ।

संसद् ठुला भनेका तीन दलको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो । ठुला भनिएका तीन दल अन्य दल प्रति अनुदार रहेका उहाँले प्रष्ट पार्नुभयो ।

Comments are closed.