पत्रकार महासंघको विवाद अझ चर्कियो, निर्वाचन कर्मचारी माथि हातपातको आरोप

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति नजिकिँदै जाँदा थप विवाद चर्किएको छ ।

नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुङ्ग्याउन पत्रकार महासंघको नेतृत्वले उदासीनता देखाएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघका शाखा र प्रदेश कार्यसमितिले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको कुनै पनि वैध संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यसअघिकै असहमति जनाइसकेको युनियनका अध्यक्ष शिव लम्सालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । महासंघको निर्वाचनका लाग भोलि मनोनयन दर्ता गर्ने मिति तोकिएको छ ।

पत्रकार महासंघको नेतृत्वले युनियनसँग कुनै संवाद नगरी बेवास्ता गरेर एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेको भन्दै युनियनले आपत्ति जनाएको छ । कुनै अमुक संगठनको स्वार्थ अनुरूप समस्या समाधान नगरी निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेमा त्यसको क्षति महासंघले बेहोर्नुपर्ने लम्सालले चेतावनी दिनुभएको छ ।

महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र केन्द्रीय निर्वाचन समितिलाई युनियनले आग्रह गरेको छ । निर्वाचन समितिले यस अघिकै नामलाई अन्तिम नामावली भनेर प्रकाशित गरेको छ । ‘महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी विधान अनुसार सदस्यता विवाद नटुगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा देशभरका पत्रकारहरु आन्दोलित हुने र त्यसको परिणाम महासंघलाई विधि विपरीत सञ्चालन गर्न चाहनेहरुले नै व्यहोर्नुपर्ने चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तिमा लेखिएको छ ।

उता प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघ नेपालले संयुक्त विज्ञप्ति जारी गरी महासंघको विधान बमोजिम तीन वर्षे कार्यकाल पूरा भई महाधिवेशन समेत सम्पन्न भइसकेको अवस्थामा निर्वाचनको प्रक्रियालाई सहजरुपमा अघि बढाउन केन्द्रिय निर्वाचन समितिलाई सहयोग गर्नु महासंघको वर्तमान नेतृत्वको दायित्व भएको जनाएका छन् । तर, उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा प्रेस युनियन सम्बद्ध केही व्यक्तिहरू समूहगत रूपमा जम्मा भई हुल हुज्जत गर्ने, निर्वाचन समितिका सदस्यहरूमाथि दुर्व्यवहार गर्ने, निर्वाचन कार्यमा खटिएका कर्मचारीमाथि हातपात गर्ने जस्ता निन्दनीय कार्य हुँदा समेत महासंघको मूल नेतृत्वले त्यसलाई नियन्त्रण गरी वातावरण सह बनाउन कुनै पहल नगर्नुले विभिन्न आशङ्का उत्पन्न गराएको ती संगठनका प्रमुखहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यस किसिमका गलत कार्यहरू हुँदा पनि महासंघको मुख्य नेतृत्व खास गरी अध्यक्षको मौनता साध्नु र सहज वातावरण बनाउन नलाग्नुले थप आशङ्का जन्माएको छ’, संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

यस खालका गलत प्रवृत्तिलाई नियन्त्रण गरी निर्वाचन प्रक्रियालाई अघि बढाउन सहज वातावरण निर्माण गर्न ती संगठनले माग गरेका छन् । ‘कुनै पनि षडयन्त्रमा सामेल नभई निर्वाचन कार्यतालिका अनुसार भोलि असार १५ गते केन्द्रीय समितिको मनोनयन दर्तासहितका सबै कार्य अघि बढाउन निर्वाचन समितिलाई सहयोग गर्न महासंघका अध्यक्ष र केन्द्रीय नेतृत्वको ध्यानाकर्षण समेत गराउन चाहन्छौँ, अन्यथा महासंघको विधि, विधान र स्थापित मान्यता विपरीत महासंघमा हुल हुज्जत गरी प्रक्रियालाई अवरुद्ध गर्ने सुनियोजित कार्यमा महासंघको नेतृत्व नै संलग्न भएको स्पष्ट हुने र त्यस्तो अवस्थामा महासंघको अस्तित्व रक्षाका निम्ति हामी जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिन चाहन्छौँ’, संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

Comments are closed.