सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, २ वैशाख

            कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ना.५ ख ९७३२ नम्बरको ट्रकमा सु.प.प्र.०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक  बेदकोट नगरपालिका-३ बस्ने ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, देवदह नगरपालिका-१ भवरावारीमा लु.१ ह ३८१४ नम्बरको अटो र लु.५२ प ५०३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार देवदह नगरपालिका-२ बस्ने २३ वर्षीय युवराज सारु मगर र अटोमा सवार नवलपरासी सुनवल नगरपालिका-८ बस्ने २५ वर्षीया दिलमाया सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  हाल फरार अटो चालकको प्रहरीले खोजी गरिररहेको छ ।

मोरङ, रंगेली नगरपालिका-३ आमतोलास्थित सडकमा प्र १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ग्रामथान गाउँपालिका-५ तेतरीया बस्ने ६० वर्षीया बैशाखी चौधरी र सोही ठाउँ बस्ने ५१ वर्षीया रिता कुमारी माझी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते रिता कुमारीको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो भने बैशाखीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य १७ जनाको रंगेली अस्पताल र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.