प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा.केसीले सुरु गरे अनशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेका छन् ।

शनिवार उनले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै अनशन सुरु गरेको बताएका हुन् ।

विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका बताएका छन् । उनले निष्पक्ष रुपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैँभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरूले न्यायको अनुभूति गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ’

मानवताविरोधी अपराध र युद्ध अपराधमा जोडिएका कतिपय माओवादी नेताहरू अहिले शक्ति र सत्ताको आडमा सजायबाट जोगिन खोजिरहेको भन्दै केसीले दण्डहीनता कायम गर्न प्रचण्डसँगै केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपालको भूमिका पनि बराबर रहेको बताएका छन् ।

केसीले ३ बुँदे माग राखेर पशुपति क्षेत्रको मृगस्थलीमा अनशन सुरु गरेका छन् । उनका अन्य मागमा सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निःशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि रहेको छ ।

हेर्नुहोस् केसीको प्रेस विज्ञप्ति :

   

Comments are closed.