एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ: ओली

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेवापत एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको टिप्पणी गरेका छन् ।

‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु एमालेलाई सरकारमा पुग्न नदिन अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाइ छ । सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए ।

ओलीले एमाले सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दावी समेत गरे ।

उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउने लगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्‍याए । ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबैभन्दा ठूलो प्राप्ति हुने गरेको बताए । उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दूर्गम ठाउँको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भए पनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताए ।

ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए । त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए ।

यस्तो छ ओलीको भाषण

‘कमसेकम के चाँही भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिह्रु, अपांगता भएका व्यक्तिहरु समेतको प्रबन्ध प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्‍याएको छु आफैँले निर्णय गरेर । हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन् नेपालमा त्यस्तो सुहाउँदैन भनेर बालबालिकाहरु खाते भएर सडकमा अलपत्र पर्ने होइन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरुको प्रबन्धहरु, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढने प्रबन्ध, त्यो सुरु गराएँ । नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो । सडकमा अलपत्र परेका मानिसहरुलाई विभिन्न संघ, संस्थाहरुसँग मिलेर तिनको व्यवस्थापन गर्ने प्रबन्ध गरिएको हो । र, नेपालका बाटाघाटाले नेपाल जोडियोस् । दूर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटो थियो । त्यसलाई राजमार्ग बनाइएको हो दुई लेनको । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । पुरानो राजमार्गलाई ४ लेन, ६ लेनको बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । पूर्वपश्चिम रेलको लाईन बनाइएको हो । मध्य पहाडी राजमार्ग खनाइएको हो । अव मध्यपहाडी राजमार्गबाट यही मंसीरको अन्त्यतिर पश्चिमबाट सुरु गरेर पूर्व पहाडैपहाडतिरबाट जाने यो योजना बनाएको थिए । र, मैले दूर्गम भन्दा दूर्गम ठाउँहरु नेपालको हिमाल पारीका गाउँहरु म घुम्न गएको छु । चाँहे मिली भ्याली होस् । चाहे रुवि भ्याली होस् । चाहे अरु ठाउँहरु हुन । झापाको मात्रै कुरा होइन नि । म देशभरीका जनतालाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन् म देशभरी बाटो बनाउँछु । झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरीका देशभरीका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो । मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरुलाइ मात्रै होइन, देशभरीका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो । यो वापत मैले श्रेय पाउँ भनेर होइन । मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले राम्रो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम चाँही गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनु पर्छ । गर्दै जानु पर्छ । कसले के भन्यो भन्ने कुरा होइन । कसैले भन्न सक्ला–कस्तो लोभी रहेछ ? परलोकमा पनि सुख पाउन यस्तो यस्तो काम गरिरहेछ भनेर आरोप लगाई दिन्छन नि । विजय मूर्तिजीले यो काम गर्नु भएको छ । आ, यो परलोक सपार्नका लागि यो काम गरेको हो भनेर आरोप लगाई दिन सक्छन । अव के गर्नु हुन्छ ? परोलोक कसैले देखेको छैन । यसको कुरा नगरौँ । तर, यो लोक बनाउनु पर्छ । यो लोकलाई बनाउनु पर्छ आनन्दमय । समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नु पर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन । किनभने यी कामहरु गर्नुको अर्थ उनीहरुको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरु त्यसको विरुद्धमा लाग्छन फेरी । तर, यो चिन्ताको विषय होइन । हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफल भन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ तपाईलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ति ।’

 

Comments are closed.