भूकम्प पीडितलाई कांग्रेसका संघीय सांसदले १५ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका संघीय सांसदहरूले आफूले पाउने १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिनुहुने भएको छ ।

भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सो रकम संसदीय दलको बैठकले निर्णय गरेको हो । नेपाली कांग्रेस संसदीय दल दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार राती ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा भएको मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटना प्रति नेपाली कांग्रेस संसदीय दल कार्यसमितिले गहिरो दुःखी व्यक्त गरेको छ । विनाशकारी भूकम्पमा परी जीवन गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेस संसदीय दलले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Comments are closed.