हनुमानढोका दशैँघरमा भित्र्याइयो गोरखाबाट पठाइएको फूलपाती

काठमाडौं । गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दशैं घरमा भित्र्याइएको छ ।

फूलपातीको दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको हो ।

फूलपातीको दिन बिहान आठ बजेको शुभ साइतमा गोरखा दरबारबाट निकालिएको अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रूपमा अपराह्न ४ः३० बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइएको हो ।

राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन सुरु भएको मान्यता छ । गोरखा दरबारबाट बिच बाटोसम्म मगर पुजारीहरूले फूलपाती ल्याउने र बिच बाटाेबाट काठमाडौँबाट फूलपाती लिन गएका ब्राम्हण पुजारीले ल्याउने प्रचलन छ ।

Comments are closed.