अहिलेका कम्युनिष्ट नेताहरूको लागि म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेका कम्युनिष्टहरू कम्युनिष्ट जस्तै नभएका बताउनुभएको छ ।

पुष्पलाल स्मृति जन्मशताब्दीको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको प्रवचन गोष्ठीमा बोल्दै यादवले आफूलाई पुष्पलाल र तुलसीलाल साँच्चिकै कम्युनिष्ट जस्ता लागेका भए पनि अहिलेका कम्युनिष्टमा सो चरित्र नभएको बताउनुभयो । ‘अहिले त के हो के हो, अहिलेका कम्युनिष्टहरू त के हुन्, के हुने, विचार, आदर्श, चिन्तन सबै बदलिएको छ’, उहाँले भन्नुभयो ।

अहिलेका कम्युनिष्ट पार्टीका नेताहरूको चरित्र नै बदलिएको उहाँले बताउनुभयो । ‘अहिलेका कम्युनिष्ट पार्टीका नेताहरूको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नु भएको छ, त्यसको दौडमा यतिसम्म गिर्छन् भनेर कल्पना नै गर्न सकिँदैन, त्यो युग आएको छ, कुनै काम बाँकी नछाड्ने, राजावादीसँग पनि एकता गर्ने, गरेकै हो, केका लागि ? सरकाका लागि, दुई दिनका सरकारका लागि, राजवादी पनि चलेकै, छ कांग्रेस पनि चलेकै छ, अर्को पनि चलेकै छ, जोसँग पनि चलेको छ’, उहाँले भन्नुभयो ।

वैचारिक अन्यौलता, आदर्श र चिन्तन हराएपछि केवल अवसरवाद मात्र बाँकी हुने उहाँले बताउनुभयो । छरिएर रहेका नेपालका कम्युनिष्टमा को सही, को गलत भन्ने छुट्याउनै गाह्रो भएको उहाँको धारणा छ । सही बाटोमा हुनेले अहिले पनि दुःख पाइरहेका यादवले बताउनुभयो ।

यादवले समाजवादी आन्दोलनलाई स्थापित गर्ने हो भने सबै खालका विभेद र असमानताको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेको संसदीय प्रणालीबाट जनवादी र समाजवादी क्रान्ति सम्भव नभएको उहाँको धारणा छ । यो प्रणालीलाई न परिमार्जन गर्न जरुरी रहेको यादवको भनाइ छ ।

Comments are closed.