परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन जाँदै

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फागुन ११ गते चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो निमन्त्रणा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदलाई नै आएको थियो तर उनी जान नपाएपछि अहिले मन्त्री श्रेष्ठ त्यसमा जान लागेका हुन् । परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार मन्त्री श्रेष्ठको यो भ्रमण ‘गुडविल भ्रमण’ हो, भ्रमणको कुनै खास एजेण्डा छैन । चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नुको साथै चैत १३ गते लगानी सम्मेलनको बारेमा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

चैत १३ गते त्यही बोआओ सम्मेलन पनि हुँदैछ । नेपाल त्यसको संस्थापक सदस्य हो । तर त्यसमा परराष्ट्र मन्त्री श्रेष्ठ सहभागी हुनेछैनन् । परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाने चर्चा चलेपछि उनी बोआओ सम्मेलनमा नै सहभागी हुने कुरा आएको थियो तर उनी सो कार्यक्रममा सहभागी नहुने परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

चैत १८ गतेसम्म चीनको विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनुको साथै मनोसरोवरको यात्रा पनि गर्ने परराष्ट्र स्रोतले जनाएको छ । उनी चैत १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Comments are closed.