नेपाली फूलमाला बिक्री गर्न काठमाडाैं महानगरले ताेक्याे चार ठाउँ

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगरभित्रका चार ठाउँलाई बिक्री केन्द्र तोकेको छ ।

तिहारमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ४ ठाउँमा बिक्री केन्द्र ताेकेर बिक्री खुला गरिएकाे महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ।

काठमाडौं महानगर, नेपाल फ्लोरीकल्चयर एशाेसिएशन र नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट-तीनकुने, हाँडीगाउँ कृष्णमन्दिर नजिक र बालाजु भ्याली कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल बिक्रीका लागि खुला गरेकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिने मेयर शाहले उल्लेख गर्नुभएकाे छ ।

अबको ४ दिनमा महानगरले व्यवस्थापन गरेको ठाउँमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरिएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

ताेकिएका ठाउँमा नेपाली फूल मात्रै रहने र त्यसकाे संयुक्त टाेलीले अनुगमन गर्ने पनि मेयर शाहले उल्लेख गर्नुभएकाे छ । ‘तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि हामीले अवरोध गर्ने छैनौं भने महानगर  नेपाल फ्लोरीकल्चयर एशाेसिएशन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्नेछाैं’- उहाँले लेख्नुभएकाे छ ।

Comments are closed.