काठमाडौं : सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ।
गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थाले।
पुरुष र महिला भन्दा आफूलाई भिन्न पहिचानमा चिनाउनेहरू आफू अनुकूलका भेसभुसामा स्वतन्त्र पूर्वक सडकमा निस्कन थाले। सन् २००३ मा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उत्सवको रूपमा मनाउन सुरु गरे।
पन्तकै नेतृत्वमा चितवन, पोखरा लगायतका सहरमा समुदायका सदस्यहरू सहभागी भएर गाईजात्रा पर्व मनाउँदै आए। त्यसपछिका वर्षमा भने गाईजात्रा पर्व काठमाडौँमा मात्र सीमित भएको छ।
काठमाडौँको पनि ठमेलदेखि वसन्तपुरसम्म र्याली निकाल्ने, मैनबत्ती बाल्ने, नाचगान हुने गरेकोमा गत वर्षदेखि कीर्तिपुरमा पनि समलिङ्गी तेस्रो लिङ्गीहरूले गाईजात्रा उत्सव मनाउन थालेका छन्।
राज्यका निकायमा सहभागिता सुनिश्चित गर्न माग गर्दै कीर्तिपुरको बाघभैरवदेखि उमामहेश्वर मन्दिरसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई गाईजात्रा मनाए। वर्षभर दिवङ्गत समुदायका सदस्यको चिरशान्तिको कामना गरे।
तेस्रो लिङ्गीलाई नबुझेर बलात्कार गरेर फालिदिएको घटना अहिले पनि भइरहेको उनीहरूले सुनाए। तेस्रो लिङ्गी व्यक्तिहरूले आफ्नो ज्यान जोखिममा पारेरै अहिलेसम्म समाजको अगाडि खुलेर आएको बताए।
तर पनि सरकारी निकायले नबुझेकोमा धेरै दुख लागिरहेको तेस्रो लिङ्गी अधिकारकर्मी दीपक महर्जनले बताए। ‘समाजले पनि बुझ्नु पर्छ, सरकारले पनि बुझ्नु पर्छ। समाजले बुझे सरकारले बुझ्छ, सरकारले बुझे राष्ट्रले बुझ्छ,’समर्पण सभ्य समाज नेपालका सचिव समेत रहेका महर्जनले भने,‘राष्ट्रले बुझे अन्तर्राष्ट्रले बुझ्छ भन्ने हाम्रो सोच छ। सबै मिलेर समाजलाई राम्रो बनाउनु पर्छ।’
समाज र छरछिमेकको डरले तेस्रो लिङ्गी भनेर ढुक्कका साथ अगाडि आउन गाह्रो परिरहेको उनले बताए। ‘तपाईँहरूले हाम्रो पहिचानलाई बुझ्नु पर्छ। हामी जस्ता व्यक्तिहरूलाई बुझेर कदर गर्नुपर्छ,’उनले भने,‘मलाई घरपरिवारले स्वीकारेका कारण ढुक्क भएर तेस्रो लिङ्गी भनेर हिँड्न पाइरहेको छु।’
पर्यटकीय क्षेत्र बन्दै गरेको कीर्तिपुरमा समर्पण सभ्य समाज नेपाल र मायाको पहिचान नेपालले संयुक्त रूपमा गाईजात्रा उत्सव मनाए। समर्पण सभ्य समाज नेपालले तेस्रो लिङ्गी सन्तानका बालबालिकाको शिक्षामा काम गर्दै आएको छ भने मायाको पहिचान नेपाल दक्षिण एसियामै पहिलो इन्द्रेणी विवाह कानुनी रूपमा दर्ता गर्न सफल भएको छ।
माया गुरुङ्ग र सुरेन्द्र पाण्डे समलिङ्गी तेस्रो लिङ्गीको विवाह कानुनी रूपमा दर्ता गर्ने दक्षिण एसिया जगाउने दम्पती बनेका छन्।
अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राजनीतिक समावेशिताका लागि समाजमा सचेतना फैलाउने सन्देश लिएर गाईजात्रा उत्सवमा सहभागी भएको मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले बताए। ‘सरकारले सम्बोधन गरेको छैन, राजनीतिक, शैक्षिक, स्वास्थ्यका हिसाबले पछाडि पर्नु परेको छ,’उनले भने,‘राजनीतिक समावेशीताका लागि समाजमा उनीहरूलाई सभ्य रूपमा सचेतना फैलाउने सन्देश पनि बोकेर आएका छौ।’
रोजगारी नपाउँदा पेट पाल्नका लागि देहव्यापार गर्नु पर्ने बाध्यता रहेको उनले बताए। परिवार र देशमा स्वीकार्यताको अभाव, रात्रिकालीन र दिवाकालीन कामको अभावले आफ्नो पेट पाल्नका लागि देहव्यापार गर्नुपर्ने बाध्यता छ,’उनले भने,‘उहाँहरूलाई यस्ता किसिमका गतिविधिबाट विस्थापित गरेर सकारात्मक कामहरूमा स्थापित गर्नका लागि र जनजनमा हरेक व्यक्तिहरूलाई घरपरिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा पनि यो समुदायका साथीहरू पनि एउटा मानवीय व्यक्तिहरू हुन भन्ने सचेतना फैलाउनका लागि गाईजात्रा पर्व यहाँहरूसँगै मनाइरहेका छौँ।’
Trending Now
- Making It Big: 6 Game-Changing Lessons from Binod Chaudhary’s Success Journey
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
Comments are closed.