काठमाडौं । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन्।
रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिनुभयाे । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पछिल्लो समय रुस-युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् । रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान समेत गुमाएका छन् ।
सरकारले रुसी सेनामा नजान आग्रह गरेकाे छ । नेपाली युवालाई भर्ना नगर्न र भर्ना भएकालाई फर्काउन समेत रुसलाई सरकारले आग्रह गरेकाे छ ।
– रासस
Comments are closed.