गठबन्धन सरकारका कारण मुलुकमा अराजकता बढेको:गोकर्ण बिष्ट

काठमाडौं । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्टले समाजवादको आधार निर्माणका लागि उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले मुस्ताङ जिल्ला कमिटीको सचिवालय बैठकलाई शनिबार सम्बोधन गर्दै बिष्टले स्थानीय उत्पादनलाई बजारीकरण गरेर नै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । मुस्ताङको विकासका लागि नेकपा एमाले नेतृत्वको सरकारले गरेका काम ऐतिहासिक रहेको उहाँले दाबी गर्नुभयो । बिष्टले समृद्धिको खास योजना र देशलाई विकासको बाटोमा अघि बढाउन नेकपा एमाले मात्रै सक्षम रहेको दाबी गर्नुभयो ।

अहिलेको गठबन्धन सरकारले योजनाबिना नै देश चलाउन खोजेको उहाँले बताउनुभयो । गठबन्धन सरकारका कारण मुलुकमा अराजकता बढेको बिष्टको भनाइ छ ।

बैठकमा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पार्टीको वार्षिक कार्य योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।

बैठकमा पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न योजना निर्माण गरिएको छ । बैठकले पार्टी सदस्यता बिस्तार, जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको जिल्ला अधिवेशन चैतको अन्तिम हप्ता गर्ने प्रस्ताव गरेको छ ।

बैठकमा पार्टी केन्द्रीय सदस्यहरू चन्द्र मोहन गौचन, टसी स्याङ्वो गुरुङ, प्रदेश कमिटी सदस्यहरू प्रमेश गुरुङ, समिता शेर्पा, एमाले बाग्लुङ जिल्ला कमिटीका अध्यक्ष हिराबहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

 

Comments are closed.