हमास-इजरायल सम्झौता‚ विपीनलाई तत्काल नछाड्ने

तेलअभिभ : इजरायलको मन्त्रिपरिषद्ले बुधबार हमाससँगको चार दिने अस्थायी युद्धविरामलाई अनुमोदन गरेको छ। पहिलो चरणमा इजरायल र हमासबीच ५० जना बन्धक रिहाइ गर्ने सहमति पनि बनेको छ।

इजरायली गुप्तचर संस्था मोसाद र अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख विलियम बर्न्सनले उक्त सम्झौता गराएका हुन्। उक्त सम्झौताका लागि अमेरिकी राष्ट्रपति जो बाइडनले कतारका अमीरलाई पटक पटक फोन गरेका थिए। बन्धक छोड्ने काम बिहीवार शुरु गर्ने नभए शुक्रवारदेखि गर्ने बताइएको छ।

रिहाइ गरिनेमा इजरायली महिला र बालबालिका रहेका छन्। हमासले दुई दिनअघि मात्रै आफ्नो नियन्त्रणमा रहेका व्यक्तिको उमेर‚ लिंग र राष्ट्रियताको जानकारी दिएको थियो। ​

कतारलाई बाइडनको धम्की

सीएनएनको रिपोर्टअनुसार कतारले यो सम्झौतामा भूमिका खेल्दै आएको थियो तर हमासले वार्ता तोड्ने धम्की दिइरहेको थियो। त्यसै वेला बाइडनले कतारका अमीरलाई फोन गरे।

‘समय बितिरहेको छ’‚ बाइडेनको धम्कीपूर्ण सन्देशपछि कतारका अमीरले सम्झौता पूरा गराउने आश्वासन दिए। भोलिपल्टै अमेरिकी कूटनीतिज्ञ ब्रेट म्याकगुर्कले दोहामा कतारका अमीरलाई भेटे र सम्झौताका शर्त हेरे।

सम्झौतामा पहिलो चरणमा महिला र बालबालिकालाई रिहा गरिने र हमासले कसरी अधिक बन्धकलाई रिहा गर्ने भन्ने खाका बनाइएको थियो। त्यो पत्र हेर्दै उनले सीआईए प्रमुखलाई फोन गरे। इजरायलको मन्त्रिपरिषद्ले आइतबार थोरै परिवर्तनसहित सम्झौतालाई अनुमोदन गर्‍यो। त्यो मस्यौदा कतारी अमीरलाई पठाइयो र उनले सम्झौताका शर्तहरू दोहामा रहेका हमासका नेता इस्माइल हानियालाई देखाए।

पर्सिपल्टै मंगलवार बिहानै हमासले यसलाई स्विकार्ने सन्देश दियो।

यस्तो छ सम्झौता

यस अवधिमा गाजापट्टीमा हमासले बन्धक बनाएका कैदी रिहाइको सट्टा इजरायलका जेलमा रहेका प्यालेस्टिनी बन्दीलाई मुक्त गरिनेछ। बन्धकहरूको रिहाइको बदलामा इजरायलले आगामी केही दिनका लागि गाजामा बमबारी रोक्नेछ। गाजापट्टीमा दैनिक ६ घण्टा ड्रोन उडान पनि रोक्नेछ। इजरायलले मानवीय सहायतालाई अनुमति दिनेछ र इन्धन आपूर्ति गर्नेछ।

हमासले पनि २४० इजरायली बन्धकमध्ये कम्तीमा ५० बन्धकहरूलाई रिहा गर्नेछ। सबैभन्दा पहिले बन्धक महिला र बालबालिकालाई रिहा गरिनेछ। इजरायलले पनि प्यालेस्टाइनका ३५० बालबालिका र ८२ महिलालाई रिहा गर्नेछ।

चार दिनको युद्धविरामपछि दैनिक १० जना इजरायलीलाई मुक्त गरेपछि एक दिन युद्धविराम बढाउनेछ। अन्यथा सबै बन्दी मुक्त नहुँदासम्म इजरायली रक्षा मन्त्रालयले आक्रमण नरोक्ने चेतावनी पनि दिएको छ।

विपीनलाई अहिले नछोडिने

रिहा हुने इजरायली बन्धकहरूमा महिला र बालबालिका मात्र हुनेछन्। पहिलो चार दिनमा हमासले ५० जना बालबालिका र महिलालाई रिहा गर्नेछ। दुवै पक्ष युद्धविराम बढाउन सहमत भए भने त्यसपछि इजरायली पुरुषको पालो आउँछ। इजरायलकै पनि सैन्य कर्मचारीलाई रिहा गरिने छैन। हमासले अक्टोबर ७ तारिखमा गरेको आक्रमणमा २४० जनालाई बन्धक बनाएको थियो।

विदेशी बन्धकहरूलाई रिहा गर्ने विषयमा हाल वार्ता भएको छैन। त्यसमा थाई र नेपाली नागरिक विपीन जोशी पनि रहेका छन्।

Comments are closed.