मैले कम्युनिष्ट एकताको एक पटक प्रयास गरेकै हो, तर सफल भएन’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूलाई मिल्न नदिन षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
पुष्पलालको जन्म शताब्दीको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै दाहालले आफूले कम्युनिष्ट पार्टी एक बनाउन प्रयास गरेको भए पनि असफल भएको बताउनुभयो । ‘पहिलो प्रयास असफल भएपछि अहिले पनि मैले कम्युनिष्ट एकताको एक पटक प्रयास गरेकै हो, तर सफल भएन’, उहाँले भन्नुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा सबैले सम्मान गर्ने नाम पुष्पलाल भएको उहाँले बन्नुभयो । कम्युनिष्ट पार्टीमा एकताको आधार पुष्पलाल बन्न सक्ने प्रचण्डले बताउनुभयो ।

अहिले कम्युनिष्ट आन्दोलनमा देखिएका राजनैतिक, वैचारिक र साङ्गठनिक समस्या समाधानको लागि पुष्पलाललाई सम्झिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आजको आवश्यकता यही भएको उहाँको धारणा छ । एक पटक असफल भए पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभियानलाई निरन्तर अघि बढाउनु पर्ने उहाँको धारणा छ ।

एमालेमा पनि एउटा ठुलो पङ्ती प्रगतिशील भएको बताउँदै उहाँले उहाँहरूको आफूलाई चिन्ता भएको बताउनुभयो । उहाँहरूलाई कसरी आफूहरूसँग जोड्न सकिन्छ भन्ने विषयमा लागिरहनु पर्ने प्रचण्डको भनाइ छ ।

आफूले बिचौलियाको सेटिङ भत्काउन खोज्दा प्रधानमन्त्रीबाट हट्नु परेको पनि उहाँले दाबी गर्नुभयो । आफू विरुद्ध भएका सबै षडयन्त्र समय क्रममा सार्वजनिक हुँदै जाने दाहालले सुनाउनुभयो ।

Comments are closed.