रुससँगको युद्धमा युक्रेनले हार्‍यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनी

काठमाडौँ । रुससँगको युद्धमा युक्रेनले हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले यस्तो बताएका हुन् । उनले अमेरिकी कांग्रेसलाई राहत विधेयक पारित गर्न पनि माग गरेका छन् । युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदै छ । आफूहरूलाई हिजो यो पैसा चाहिएको तर आज वा भविष्यमा आवश्यकता नहुन सक्ने उनको भनाइ थियो ।

‘हामीलाई बचाइएन भने युक्रेनले युद्ध हार्नेछ यसले अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली ढल्नेछ । विश्वलाई सुरक्षाको लागि नयाँ प्रणाली चाहिनेछ,’ डेनिसले भनेका छन् । फेरि नयाँ तनाव उत्पन्न हुन सक्ने, यस्तै खालका कयौँ युद्धहरू देख्न सकिने र विश्व तेस्रो विश्वयुद्धतिर धकेलिन सक्ने पनि उनले बताए । आफ्नो हार भयो भने विश्व युद्ध छेडिन सक्ने भनेर युक्रेनले चेतावनी दिएको यो पहिलो पटक भने होइन ।

गत वर्ष युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए । तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो । पूर्वी युरोपमा आक्रमण गर्न सक्ने दाबीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूरै बकवास भनेका थिए ।

Comments are closed.