एमाले कमजोर भयो भने देशको अस्तित्व खतरामा पर्छ: ईश्वर पोखरेल

काठमाडौैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चाडपर्वहरु सामाजिक सद्भाव अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर भएका बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले रसुवा–काठमाडौं सम्पर्क मञ्चको देउसी भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रमको शनिबार काठमाडौंमा शुभारम्भ गर्दै पोखरेलले सामाजिक सद्भाव अभिवृद्धि गर्नुको मूल मर्म भनेको राष्ट्रिय एकतालाई मजबुत बनाउनु भएको उहाँले बताउनुभयो । ‘यही सामाजिक सद्भावको जगमा हाम्रो देश टिकेको छ, बाँचेको छ, हाम्रो राष्ट्रिय एकता खडा भएको छ’, उहाँले भन्नुभयो ।

अहिले नेपालको राजनीतिमा नक्कली कुरा गर्ने मानिसहरूको जगजगी भएकोले उनीहरूबाट सतर्क हुनु पर्ने पोखरेलले बताउनुभयो । वाग्मती प्रदेश सरकारको नेतृत्व गर्नेहरूले समेत प्रदेशको राजधानी सार्ने र प्रदेशको नाम फेर्ने नक्कली कुरा गरेर समाजलाई भड्काउने काम गरेका भन्दै उहाँले आलोचना गर्नुभयो ।

नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन अहिले गरिरहेको हिसाबले काम गरेर मात्र सम्भव नहुने उहाँले बताउनुभयो । यसको लागि थप रचनात्मक हिसाबले काम गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

एमालेलाई मूल आधार शक्तिको रूपमा अघि बढाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । ‘एमाले मजबुत नहुने हो भने, एमाले सुदृढ नहुने हो भने यो राष्ट्रिय शक्ति कमजोर हुन्छ, राष्ट्रिय शक्ति कमजोर भयो भने हाम्रो देशको अस्तित्व खतरामा पर्छ’, उहाँले भन्नुभयो ।

एमालेलाई बहुमतमा पुर्‍याउने मिसन २०८४ सफल बनाउन सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसको लागि सबैले आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्ने उहाँले बताउनुभयो । राष्ट्रिय शक्तिको एकतालाई बलियो बनाउँदै एमालेलाई बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

एमाले प्रति चौतर्फी हमलाको बाबजुद पनि एमाले पहिलो राष्ट्रिय शक्ति बनेको उहाँले बताउनुभयो । यस प्रति सबैले गर्व गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेसँग गौरवपूर्ण इतिहास, स्पष्ट मार्गचित्र र त्यसलाई कार्यान्वयन गर्ने बलियो संगठन भएको उहाँले प्रष्ट पार्नुभयो । एमालेको गौरवलाई बोध गर्दै अघि बढ्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

Comments are closed.