अवैध सुन तस्करी प्रकरण ५ वटा डमी कम्पनीबाट ३२ क्विन्टल सुन तस्करी

काठमाडौं । ब्रेक सू र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले थप ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानपछि प्रहरीले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ माग दाबी गरेकोमा भन्सार ऐन तर्फ ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँ, क्रिप्टो करेन्सी तर्फ १ खर्ब ४९ अर्ब ६८ करोड २८ लाख ७ हजार ८८६ रुपैयाँ, नेपाल राष्ट्र बैंक ऐन तर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२ रुपैयाँ, पेवेल प्रालिलाई ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३ रुपैयाँ र सजिलो पे पेमेन्ट सर्भिसेजलाई १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ तथा अन्य प्रतिवादीलाई ५ अर्ब १८ करोड १५ लाख ९१ हजार ९६४ रुपैयाँ मागदाबी गरिएको छ । विभिन्न डमी कम्पनीका नाममा पैठारी भइ आएका माल वस्तुहरूको परीक्षण गर्दा ती पार्ट पुर्जामा भएको सुनको तौल ३ हजार १ सय ९४ केजीभन्दा बढीको भएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ । यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड बिगो र त्यति नै जरिबाना दाबी अभियोग पत्रमा गरिएको छ ।
यस प्रकरणमा २० जना पक्राउ परेका छन् । २६ जना अझै फरार छन् । सीआईबीले गरेको अनुसन्धानबाट पक्राउ परेका सिद्धार्थ भनिने २० वर्षीय सिद्धनाथ अशोक गायकवाड भारतको महाराष्ट्रका नागरिक हुन् ।उनले काठमाडौं महानगरपालिका–२२ न्यूरोडको संकटामा सुन रिफाईनरी पसल सञ्चालन गर्ने गरेका थिए । उनी वैशाख २३ गते पक्राउ परेका हुन् । उनले अवैध सुन खरिद गर्ने, गाल्ने, पगाल्ने र बिक्री गर्ने काम गर्दै आएका थिए । साम भनिने चिनियाँ नागरिक जोङ चियाङ्कहुआनबाट उनले अवैध सुन खरिद गरी बिक्री गर्ने गरेको पाइएको छ ।ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष प्रहरीले निकालेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको हो । यसमध्ये ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको छ । अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी कुल ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ ।
सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो।यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो।सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ। सीआईबीका अनुसार गिरोहले करिब ३१ अर्ब रुपैयाँको सुन तस्करी गरेर भित्र्याएका छन्।यसको हालको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा बढी पर्छ । २०८० साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको छ ।२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो । २६२.७७८ किलो सुन तस्करी भएको निष्कर्षसहित प्रहरीले असोज ३१ मा २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अभियोग पत्रमा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिएको छ । उनीहरूविरुद्ध सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैङ्क ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्तेमा समेत सजाय हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ ।

Comments are closed.