सफा हिमाल अभियानमा: ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन

काठमाडौँ । सफा हिमाल अभियान—२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ ।
बुधवार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुद यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको बताए ।

उनले ५५ दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने बताए । उनले अभियानको सञ्चालनपूर्ण र सञ्चालनपश्चात् भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले भने ‘प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुद यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको छ । जुन आफैँमा एक उपलब्धिमूलक र हामीले दिएको र हामीले लिएका लक्ष्य र लक्ष्यअनुरूप आफ्नो काम पूरा गर्न देखाउनुभएको तत्परता मिसन हो । यद्यपि मैले फ्ल्याग अफ सेरोमनिमा भनेको जस्तो फोहोर संकलनको तथ्याङ्क यसको एउटा मानक मात्रै हो । त्यस भन्दा बढी यस अभियानको प्रतिकात्मक बिम्बको रुपमा यसको अर्थ वृहत् रहेको हुन्छ ।

करिब ५५ दिनसम्म सञ्चालित यस अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र यो अभियानको महत्त्व पक्कैपनि उजागर गर्दैन । यसले त सुरुवात मात्रै गरेको हो । यस अभियानको सञ्चालनपूर्ण र सञ्चालनपश्चात् भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रिय रुपमा हामी नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको छ । जुन हामी सम्पूर्ण नेपालीहरूको लागि गर्वको विषय हो ।’

प्रधानसेनापति शर्माले झन्डै एक लाद फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । उनले प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको बताए । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको बताए ।
सफाई अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताए । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरू अहिले पग्लिने चरणमा रहेको बताए । नेपाली सेनाले चैत्र २९ गतेदेखि अभियानको सुरुवात गरेको थियो ।

Comments are closed.