चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशतको हुन्छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । मंगलवार मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो तर अर्थमन्त्री पुनले उक्त प्रक्षेपणलाई विश्वास गरेको देखिएन । अर्थमन्त्री पुनले अर्थ मन्त्रालयले मुलुकमा पछिल्लो समय भएका आर्थिक गतिविधि र प्रयास हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको दाबी गरे ।

उनले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ र एसियाली विकास बैंकले ३.६ भनेको भए पनि त्यो भन्दा अझ राम्रो हुने संकेत रहेको उल्लेख गरे । उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक सङ्केतहरू देखापरेको र अझै ३ महिना आर्थिक गतिविधि हुन बाँकी रहेकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण भन्दा वृद्धि हुने जिकिर गरे ।

उनले सरकारले गर्ने पुँजीगत खर्च अबको तीन महिनामा वृद्धि हुने बताए । अर्थमन्त्री पुनले आन्तरिक र बाह्य कारणले अर्थतन्त्र शिथिलता भएपनि पछिल्लो समय शिथिलताबाट बाहिर आउन थालेको बताए । केही सकारात्मक सङ्केतहरू देखापरे पनि अझै ढुक्कले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था भने नरहेको उनको भनाइ थियो । ्

अर्थमन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए । आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको बताए ।

उनले भने ‘हाम्रो अर्थतन्त्रमा शिथिलता छ । अर्थतन्त्रमा शिथिलता आउनुमा आन्तरिक र बाह्य कारणहरू छन् । तर पछिल्लो समय बिस्तारै सुधार हुँदै गएको पनि छन् । तथ्याङ्कहरूले देखाएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपणहरू पनि आउन थालेका छन् । विश्व बैंक,एडिबीले आर्थिक वृद्धिदरको प्रक्षेपण गर्ने गर्छ । केन्द्रीय तथ्याङ्क कार्यालयले पनि प्रक्षेपण गर्छ । मंगलवार मात्रै सार्वजनिक गरेको छ । त्यो हेर्दा गतवर्ष भन्दा सुधार देखिन्छ । तर अझै मुलुकको अर्थतन्त्र ढुक्क भएर राम्रो भयो भन्ने अवस्थामा छैनौँ । विश्व बैंकले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्यो । एडिबीले ३.६ प्रतिशत हुन्छ भन्योे । केन्द्रीय तथ्याङ्क कार्यालयले ३.८७ प्रतिशत हुन्छ भन्यो । यो चालु आर्थिक वर्षको ९ महिनाका प्रक्षेपणहरू हुन् । अझै ३ महिना बाँकी छ । त्यो समयमा पुँजीगत खर्च बढ्छ । अहिले लगानी सम्मेलनबाट आएको उत्साह छ । केही सुधार हुँदै गएकाले केही अझ जति प्रक्षेपण भएको छ त्यो भन्दा राम्रो हुन्छ । अहिलेको सबै अर्थतन्त्रका गतिविधि र सकारात्मक प्रयासहरू हेर्दा अर्थमन्त्रालयले ४.५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने हाम्रो अनुमान हो । विभिन्न माध्यमबाट भएका प्रक्षेपणहरूलाई सरकारले आधार मानेको छ । मुलुकमा आर्थिक शिथिलताका बीचमा पनि केही क्षेत्रहरू राम्रा देखिएका छन् ।’

उनले निर्माण क्षेत्र सुधार गर्न सरकार प्रयासरत रहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्विकार्न आफू तयार नरहेको उल्लेख गरे । उनले भर्खरै लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपालमा वैदेशिक लगानीको समेत राम्रो वातावरण र सम्भावना रहेको बताए ।

Comments are closed.