हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी भई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता

काठमाडौं, २८ जेठ

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा जेठ २४ देखि २६ गतेसम्म संचालन भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्कनुभएको छ ।

प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले फहराएको इन्टरपोलको झण्डा इन्टरपोलका अध्यक्ष र महासचिवलाई कार्य समितिका सदस्यहरूको उपस्थितिमा मेगा कार्यकमबीच नेपाल प्रहरीकोतर्फबाट हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आगामी नोभेम्बरमा अष्ट्रियाको भियानामा हुने इन्टरपोलको महासभामा प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई विशेष आमन्त्रण गरी सम्मान गर्ने कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो । यस कार्यले नेपाल र एनसिबी काठमाडौंको छवि माथि उठेको र विश्वसामू नेपालको अस्तित्व उजागर भई नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण घटनाको रूपमा रहने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले उक्त कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसिबी प्रमुखहरूबीच ईन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवाद जस्ता अपराधहरूको नियन्त्रण लगायतका विषयहरुमा बृहत छलफल भई विभिन्न प्रस्ताव पारित भएको बताउनुभयो । कन्फ्रेन्स अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवर कन्फ्रेन्समा सहभागी हुन जेठ २२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फ्रेन्समा एनसिबी काठमाडौं नेपालका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. समेतको सहभागिता रहेको थियो ।

Comments are closed.