अख्तियारद्वारा १८ हजार उजुरी फर्स्याेट, ७६६ विरूद्ध १६२ मुद्दा दर्ता

काठमाडाैँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरी फर्स्याेट गरेको छ। आयोगले गत आर्थिक वर्ष २०७९/८० मा १८ हजार ७९९ वटा उजुरीको क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्स्याेट भएको बताएको हो।

सोमबार आयोगमा पत्रकार भेटघाट गर्दै सो कुराको जानकारी दिइएको हो। आयोगले आफ्नो ३३औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। सो प्रतिवेदनका अनुसार आयोगमा आर्थिक वर्ष २०७९/८० मा २० हजार ९०५ उजुरीहरू प्राप्त भएका थिए।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट ७ हजार १६२ उजुरीकाे जिम्मेवारी सरेर आएका थिए। कारबाही गर्नुपर्ने कुल उजुरीहरू २८ हजार ६७ वटा रहेकोमा त्यसैमध्येबाट १८ हजार ७९९ वटा उजुरीको फर्स्याेट भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार १ हजार १३३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको छ। त्यस्तै ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिइ तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानूनबमोजिम अन्य कारबाहीका लागि लेखेर पठाइएको उनले बताए। प्रारम्भिक छानबिनका क्रममा रहेका ९ हजार २६८ उजुरी आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएको उनले बताए।

आयोगले आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेश भएका कुल ८७८ उजुरीउपर आयोगबाट ९३७ वटा निर्णय भएकोमा १६२ वटा आरोपपत्र दायर गरेको छ। त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको जनाइएको छ।

विशेष अदालतमा दर्ता भएका १६२ वटा आरोपत्रमध्ये गैरकानूनी लाभ, हानीसँग सम्बन्धित ६४ वटा, घुस/रिसवतसँग सम्बन्धित ३२ वटा, सार्वजनिक सम्पत्तिको हानी, नोक्सानीसँग सम्बन्धित २७ वटा, गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी १३ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ८ वटा, राजस्व चुहावटसम्बन्धी ७ वटा र विविध विषयका ११ वटा रहेको बताएको छ।

उल्लेखित आरोपपत्रबाट कुल ७६६ जनालाई प्रतिवादी बनाई एक अर्ब, ७७ करोड, ५८ लाख, ४६ हजार रुपैयाँ मागदावी लिइएको प्रवक्ता दाहालले जानकारी दिए।

Comments are closed.