काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कोशी प्रदेशबाट सुरु भएको सत्ता गठबन्धन ढाल्ने घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता राख्नु पर्ने सुझाव दिनुभएको छ ।
कोशीमा गणितीय जटिलता र पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको कोशीमा एमालेसँग मिलेर समस्या समाधानको प्रयास गरौँ भन्दा पार्टी सभापतिले नटेरेको कारण अहिलेको अवस्था आएको शर्माले बताउनुभएको छ । ‘कोशीमा एमालेसहितको समाधान खोजौँ, तर मौजुदा गठबन्धन कायमै राखेर’, शर्माको सुझाव छ ।
अहिलेको गठबन्धन छाडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने पनि संस्थागत रूपमा छलफल गर्नुपर्ने उहाँको सुझाव छ । सधैँ यो बोकिरहनुपर्छ, जरुरी छैन तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न’, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।
शर्माले सल्लाहले नै अहिलेको गठबन्धन तोड्न सकिने बताउनुभयो । ‘सल्लाहले डिभोर्स गर्न मिल्छ तर, घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न, पुस १० पनि नबिर्सौँ’, उहाँले लेख्नु भएको छ ।
कुनै पनि प्रदेश सरकार ढुक्कैसँग एउटा दललाई दिने भन्ने विषयमा गठबन्धनमा कुनै सहमति नभएको उहाँले उल्लेख गर्नुभएको छ । ‘सबै प्रदेशमा आलोपालो हुने हो, परिपक्व ढङ्गले यो व्यवस्थापन गर्नुपर्छ’, शर्माले लेख्नु भएको छ ।
गठबन्धन कि गर्नै नहुने तर गरेपछि राम्रो नराम्रो सबै बेहोर्नुपर्ने उहाँले बताउनुभयो । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नुपर्ने उहाँको तर्क छ । ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो, गणित नै त्यस्तो छ, एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन, यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत सङ्गठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ’, उहाँले लेख्नु भएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री चयनमा संस्थागत प्रक्रिया न सभापतिले न फरक विचार समूहको नेताले अपनाउको उहाँको भनाइ छ । उहाँहरूले आफ्नै समूहभित्र साझा मत खोज्नुभएको शर्माको तर्क छ । ‘थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न’, शर्माले लेख्नुभएको छ ।
शर्माले समय अनुसार बदलिनु पर्ने पनि बताउनुभएको छ । ‘जमाना बदलिएको छ, अब तपाईँहरू बदलिनुस्, हामी बदलिन तयार छौँ, पार्टीको हित तपाईँ हामी बदलिनुमा सन्निहित छ’, शर्माले आफ्नो धारणा राख्नु भएको छ ।
Comments are closed.