भारतीय अर्बपति अम्बानीको छोरा अनन्तको बिहेमा ८० अर्ब खर्च

काठमाडौँ, सबैभन्दा महंगो मानिएको अनन्तको विवाहमा अम्बानी परिवारले ५ हजार करोड खर्च गरे पनि उनको कुल सम्पत्तिको जम्मा ०.५ प्रतिशत मात्रै हो । तर यो खर्चले १० वटा ओस्कार फिल्म फेस्टिभल आयोजना गर्न सकिन्छ ।
भारतीय उद्यमी तथा फोर्ब्स बिलिनियर मुकेश अम्बानीका कान्छा छोरा अनन्तको विवाह सम्पन्न भएको छ । भारतीय व्यवसायिक घराना विरेन मर्चेन्टकी छोरी राधिकासँग अनन्तको भव्य विवाह शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको हो ।
जहाँ अम्बानी परिवारले बलिउड स्टारहरुदेखि हलिउडका विश्व चर्चित सेलिब्रीटी, संसारभरका अर्बपतिहरु र प्रभावशाली नेताहरुलाई पनि बोलाइएको थियो । सात महिनासम्म चलेको यो विवाह सम्भवत:सबैभन्दा महंगो हुनसक्ने आकलन गरिएको छ ।
गत डिसेम्बरमा इन्जेगमेन्ट गरिएको अनन्त र राधिकाको जोडीले प्रि वेडिङको रुपमा इटालीसम्म पुगेर आफ्नो विवाह सेलिब्रेट गरेका थिए । शुक्रबार भने बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोन्सन, विश्वचर्तित रेस्लर जोन सिनादेखि किम कार्दसियन हुँदै जस्टिन बिबरसम्मका सेलिब्रेटीहरु निम्तालु बनेर भारत आएका थिए । तर यसअघि नै प्रि वेडिङ समारोहमा बिल गेट्स, मार्क जुकरबर्ग र डोनल्ड ट्रम्पका छोरी ज्वाइँ समेत अम्बानी परिवारको निम्तामा भारत आएका थिए ।
फोर्ब्सको बिलिनयिर सूची अनुसार विश्वकै ११ औं नम्बरमा रहेका धनाढ्य मुकेश अम्बानीले सात महिनासम्म चलेको छोराको विवाहमा कति खर्च गरे भन्ने विषय चौतर्फी चासो बनेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार अम्बानीले विवाहमा ५ हजार करोड भारतीय रुपैयाँ खर्च गरेको खुलासा भएको छ।
जुन रकम मुकेश अम्बानीको कुल सम्पत्तिको ०.५ प्रतिशत रकम मात्रै हो । यद्यपि अम्बानीको विवाह खर्चलाई लिएर कतिपयले सामाजिक सञ्जालमा रमाइलो गफको विषय बनाइरहेका छन् । यस्तैमा सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये एक जनाले भनेका छन्, ‘मैले भर्खरै पढेको थिएँ, अम्बानी परिवारले हरेक दिन ३ करोड रुपैयाँ खर्च गर्दा पनि उनको पैसा सकिन ९६२ वर्ष लाग्ने रहेछ ।’
यसैगरी अम्बानीको कम्तीमा पनि विवाहका लागि १ हजार करोड खर्च भएको सामाजिक सञ्जालमा चर्चा थियो । तर उक्त विवाहमा १ हजार करोड नभएर ५ हजार करोड खर्च भएको खुलेको छ । अर्थात नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम ८० अर्ब रुपैयाँ हुन्छ । एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘५ हजार करोड भारतीय रुपयाँ भनेको ६ सय मिलियन अमेरिकी डलर बराबर रकम हो । जुन पैसाले अमेरिकामा हरेक वर्ष हुने ओस्कर अवार्डका १० वटा समारोह सम्पन्न हुने रहेछन् ।’
तर जमनगरमा गरिएको प्रि वेडिङ समारोह अम्बानीको व्यक्तिगत खर्चबाट नभएर रिलायन्स र अन्य सरोकारवालाहरुको लगानी रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चासो राखेका छन् । सामाजिक सञ्जालमा एक जनाले यस्तो पनि टिप्पणी गरेका छन्, ‘व्यापारीहरु नाफा नहुने गरी पैसा खर्च गर्ने कुनै मुर्ख हैनन् । उनीहरुले यो सबै खर्च आफ्नो साम्राज्यको प्रचारप्रसार र विस्तार गर्नका लागि लगानी गरेका हुन् ।’
सामान्यतया हरेक भारतीय परिवारले विवाहमा आफ्नो कुल सम्पत्तिको ५ देखि १५ प्रतिशतसम्म खर्च गर्छन् । जवकि अनन्त र राधिकाको विवाहमा उनीहरुको कुल सम्पत्तिको जम्मा ०.५ प्रतिशत खर्च भएको देखिएको छ । जवकि अम्बानीले जस्टिन बिबरलाई १ करोड अमेरिकी डलर पारिश्रमिक दिएर निम्ता गरेका थिए । साथै रिहानालाई ७० लाख डलरमा सांगीतिक प्रस्तुतीका लागि बोलाएका थिए । इटालीमा भने केटी पेरीले पनि महंगो पारिश्रमिक दिएर प्रस्तुती दिएकी थिइन् ।

एजेन्सी

Comments are closed.