काठमाडौं – केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुनको दोस्रो साता आयोजना हुने भएको छ। आयोजक नेकपा एमालेको राष्ट्रिय युवा संघले बुधवार पत्रकार सम्मेलन गर्दै केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो।
प्रतियोगितामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने जानकारी गराइएको छ। प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ तथा दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका महासचिव सुमन पुरीले जानकारी दिए । यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलका प्लेयर अफ द म्याचले १५ हजार तथा हरेक खेल विजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
सबै उमेर समूहको रुची रहेकोले फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए। उनले केपी कपमा भारत, भुटान, उजवेकिस्तानका क्लबहरुको सहभागिता रहने सम्भावना रहेको बताए। प्रतियोगिताका पछिल्ला दुवै संस्करण मच्छिन्द्र क्लबले जितेको थियो।
Comments are closed.