साहित्य परिषद् भुटानद्वारा पुरस्कार अर्पण तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ २३,
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्य परिषद् भुटानले भुटानी नेपाली साहित्यमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा भुटान मूल थातथलो रहेका भुटानीहरूद्वारा रचित विभिन्न विधाका नौ पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले यस परिषद्ले नेपाली भाषा साहित्यका माध्यमबाट विश्वमा छरिएर रहेका सबै नेपालीलाई जोड्ने काम गरेको विचार अभिव्यक्त गर्नुभयो ।
पुनर्वासपछिको भुटानी कविताको सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्दै आगामी दिनमा समेत एकअर्काको समन्वय गर्दै जानु पर्ने कुरा औल्याउनु भयो ।
भुटानी नेपाली भाषा साहित्यको क्षेत्रमा निरन्तर कार्य गर्दै नेपाली भाषाको वृद्धि र विकासमा योगदान दिनु भएका विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कार अर्पण सो कार्यक्रममा नेपाल बाहिर बसेर नेपाली भाषाको अनवरत सेवा गर्दै भाषाकै माध्यमबाट सबै नेपालीलाई जोड्न सक्षम दिलकुमारी भण्डारी सिक्किमलाई परिषद् भाषा सेवा पुरस्कार २०२२, भुटानी मानिसको जीवन जगत्का यावत पक्षलाई जोड्दै नेपाली साहित्य र भाषाका माध्यमबाट विभिन्न कृतिमा भुटानी नेपाली समाजको चित्रण गर्दै अनवरत सेवा गर्दै आउनु भएका प्रा.डा. गोविन्दराज भट्टराईलाई परिषद् साहित्य सेवा पुरस्कार २०२२, भुटानी डायस्पोराको खोज अनुसन्धानमा विद्यावारिधि गर्नुभएका डा. रामजी तिम्सिनालाई परिषद् साहित्य अनुसन्धान पुरस्कार २०२२ र भुटानी शरणार्थीका जीवनसँग निकै नजिक रही उनीहरूका कथा व्यथा समेटेर कृतिका साथसाथै चलचित्र समेत निर्माण गरेका प्रकाश आङदम्बेलाई परिषद् युवा साहित्य पुरस्कार प्रदान गरियो ।
उक्त कार्यक्रममा भुटानी स्रष्टाहरूले रचना गरेका विभिन्न विधामा पुनर्वास पछिका भुटानी नेपाली कविता, आमाको काख, उच्छेदन, यक्ष प्रश्नहरू, चिताको आगो साँच्चै तातो हुँदो रहेछ, जो स्मृतिमा मात्र बाँचिरहेका छन् डायस्पोरामा भाषा शिक्षण, र बदलिएको कर्तव्य शीर्षकका नौ पुस्तक लोकार्पण गर्दै भुटानी नेपाली साहित्य विश्व साहित्य माझ उभिएको चर्चा गरिएको थियो ।
सुरुमा नेपाल भाषा परिषद् भुटान स्थापना भई पछि साहित्य परिषद् भुटानका नामले भाषा साहित्यका क्षेत्रमा विभिन्न कार्य गरिरहेको र आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता जनाउँदै साहित्य परिषद् भुटानका साहित्य प्रकाशन विभाग प्रमुख रमेश गौतमले परिषद्को स्थापनाका लागि गंगा लामिटारेको योगदानको चर्चा गर्दै परिषद्का् स्थापना, यसका गतिविधि र सहकार्यको चर्चा गर्नुभयो ।
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जित, वैभव भाषामै बाँच्दछन् पछिसम्म यी
मूल नारामा स्थापित यस संस्थाले आफूलाई दिएको सम्मानले कृतज्ञ भएको प्रसङ्ग उल्लेख गर्दै प्रा।डा गोविन्दराज भट्टराईले भृटानी नेपालीहरूले विगतमा भोग्नु परेको पीडा, दुख र आजको सम्मानयुक्त जीवनशैलीको तुलना गर्नुभयो । वि।सं। २०२६—२७ तिर भुटानमा गइ आफूले नेपाली भाषा अध्यापन गरेको स्मरण गर्दै तिनका कथालाई मुगलान उपन्यासमा सचित्र उतारेको चर्चा गर्नुभयो । भुटानबाट नेपाल हुँदै तेस्रो मुलुक पुगेका भुटानी नेपालीहरूले आफ्नो भाषा, कला संस्कृति साथै लगेको र त्यसको श्रीवृद्धका लागि अहोरात्र मिहिनेत गरिरहेका विचार अभिव्यक्त गर्दै छरिएर रहेका भुटानीहरूको रचना प्रकाशित भएकोमा निकै खुशी लागेको कुरा व्यक्त गर्नुभयो ।
पुनर्वासपछिका भुटानी नेपाली कविताको चर्चा गर्दै समालोचक डा.गीता त्रिपाठीले यस पुस्तकमा समाविष्ट कविताले भुटानबाट विस्थापित हुनुपरेका पीडा, स्वजातिबोध, अस्तित्वको खोज र डायस्पोरिक अवस्थालाई चित्रण गरेको कुरा व्यक्त गर्नुभयो । समग्र कविताले नेपाली भाषाप्रतिको मोह र कलासंस्कृतिको अनुरागलाई प्रतिबिम्बन गरेको छ भन्ने विचार अभिव्यक्त गर्दै त्रिपाठीले विश्व साहित्यमा भुटानी नेपाली समाजको दह्रीलो उपस्थिति भएको धारणा राख्नुभयो ।
कार्यक्रममा उपस्थित भई कार्यक्रम र भुटानी नेपाली भाषा साहित्यको योगदानबा बोमा बुझेर गरिमालाई उच्च बनाइदिएको हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा सभापति साहित्य परिषद् भुटानका सचिव खेम रिजालले सबै सहयोगी संघ संस्था तथा नेपाल प्रज्ञा प्रतिष्ठानलाइृ हार्दिक धन्यवाद दिनुभएको थियो ।

Comments are closed.