फाेस्वाल साहित्य महाेत्सव भारतकाे नयाँ दिल्लीमा सम्पन्न

सार्क देशहरूका लेखकहरूकाे सङ्गठन “फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिटरेचर” (फाेस्वाल) काे आयाेजनामा गत १२ चैत्रमा सुरु भएकाे तीन दिने फाेस्वाल साहित्य सम्मेलन भारतकाे नयाँ दिल्लीमा सम्पन्न भएकाे छ ।

प्रतिष्ठानकी अध्यक्ष तथा साहित्यिक अभियन्ता अजीत काैरकाे परिकल्पनामा नयाँ दिल्लीकाे सिरी फाेर्टस्थित ललितकला तथा साहित्य प्रतिष्ठानकाे सभाभवनमा आयाेजित सम्मेलनमा भारत, नेपाल, श्रीलङ्का, भुटान र बाङ्गलादेशका साथै बिम्स्टेकका सदस्य देश थाइल्यान्ड, बर्मा र कम्बाेडियाका लेखकहरू पनि सामेल थिए ।

उद्घाटन समाराेहका प्रमुख अतिथि भारतकाे आघा खान प्रतिष्ठानका अध्यक्ष नेसर मुन्जी थिए भने प्रसिद्ध इतिहासविद् तथा चिन्तक आशीष नन्दी प्रमुख वक्ता थिए ।

समाराेहमा बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानलाई उनका तीन पुस्तकका लागि मरणाेपरान्त फाेस्वाल लेखक सम्मान प्रदान गरिएकाे थियाे । यसै गरी नेपालका भीष्म उप्रेती, भुटानका डा. कुन्जाङ छाेदेन र डा. रिन्जिन रिन्जिन, भारतका आलाेक भल्ल, श्रीलङ्काकी कञ्चना प्रियकण्ठा तथा श्रीलङ्काकै काैशल्या कुमारसिङ्घेलाई “फाेसबाल साहित्य पुरस्कार” प्रदान गरिएकाे थियाे ।

तीन दिनसम्म चलेकाे सम्मेलनमा नेपाली अध्येताहरू डा. रामदयाल राकेश, डा. एकप्रसाद दुवाडी. रूपसिंह भण्डारी र महेश पाैड्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कविहरू गाेपाल पराजुली, विधान आचार्य, भीष्म उप्रेती, सुमन पाेखरेल, रञ्जना निराैला, नाज सिंह तथा रूपसिंह भण्डारीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सार्कका पाँच राष्ट्रसहित ८ देशका सर्जक र अध्येताहरूकाे प्रस्तुति रहेकाे थियाे । महाेत्सवमा वाचित रचना र प्रस्तुत कार्यपत्रहरूमा लैङ्गिक समानता, वातावरणीय सजगता र लाेकसाहित्यकाे महत्त्वमाथि विशेष जाेड दिइएकाे थियाे ।

सार्क साहित्य सम्मेलन भनिँदै आएकाे यस कार्यक्रममा पाकिस्तानी र अफ्घानी लेखकलाई भाग लिन असहज हुन थालेपछि यसलाई यस वर्षदेखि फाेस्वाल साहित्य सम्मेलन भन्न थालिएकाे हाे । याे शृङ्खलाकाे ६३ औँ सम्मेलन हाे ।

Comments are closed.