राष्ट्रिय नाचघरमा ‘गीतकार गीता खत्री साङ्गीतिक साँझ’ भव्यताका साथ सम्पन

एक दर्शन भन्दा बढी गीति सिर्जनाहरु प्रस्तुत

काठमाडौँ– लामाे समयदेखि देशबाहिर बसाइँ रहेपनि नेपाली साहित्य तथा सङ्गीत सिर्जनामा रहेकी स्रष्टा गीता खत्री मातृभूमिमा आएर आफ्नो संगीत सिर्जनामा पोखिएकी छिन् ।

शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार संघ नेपालको आयोजनामा भएको ‘गीतकार गीता खत्री साङ्गीतिक साँझ’मा उनले एक दर्शनभन्दा भन्दा बढी गीति सिर्जनाहरु प्रस्तुत गरिन् ।

माटोको माया, देशप्रेम, बुबाआमा तथा प्रकृतिप्रेम, जीवनसाथीसँगको आत्मीयता, भरोसा, परदेशको कथा, घरदेश रित्तिँदै गरेको चिन्ता जस्ता विविध संवेदनाले ओतप्रोत उनको १६ वटा सिर्जनाहरुले माहोललाई भावुक बनाएको थियो ।

खत्रीका बुवाआमा कमल बहादुर खड्का र आमा मखमली खड्काको शुभाशिष र गणेश स्तुति भजन थालनी गरिएको कार्यक्रममा खत्रीका ‘पिरतीको फूल’, ‘किन आज उदास’, ‘भरोसा छैन जीवनको’, ‘राती फुल्ने फूल’, ‘समय बगिरहेछ’ सिर्जनाहरु प्रस्तुत भएका थिए ।

कार्यक्रमको वाद्यवादनमा राजु सिंह ( संगीत संयोजक, दिनेश राज रेग्मी ( किबोर्ड साथै सहायक संगीत संयोजक, रविन कार्की (ढली,सोलो भाइलिन, सुरज प्रधान (लिड गितार, कुशल थापा ( बेस गीतार, संजिव मैनाली ( बाँसुरी, सुधिर चौधरी (तबलारमादल, जेपि जोशी (ढोलक, भुपेन्द्र रसाइली (अक्टोप्याड को भूमिकामा रहेका थिए ।

सांगीतिक साँझमा प्रस्तुत भएका सबै गीतहरू स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, पविता परियार, हरि लम्साल, सिर्जना लामा, सपना श्री, दीपक लिम्बू जस्ता स्थापित गायकहरूको स्वरमा रेकर्ड भइसकेका छन् ।

‘भरोसा छैन जीवन’को बोलको गीत खत्रीकै स्वरमा रेकर्ड भएको छ भने ‘मखमली मखमली’ बोलको गीत गीताका बुवाको स्वरमा रेकर्ड भएको छ ।

कार्यक्रममा ‘गीतकार संघ नेपाल’का अध्यक्ष बसन्त वित्यासी थापाले गीता खत्रीलाई ‘डायस्पोरा गीतकार सम्मान–२०७८’ बाट १५हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।

साथै उनको जीवन साथी राम खत्रीलाई पनि खादा मालाले सम्मान गरिएको थियो । फिल्म निर्देशक तथा साहित्यकार राजेन्द्र शलभको डिजाइनमा भएको कार्यक्रममा संगीत तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Comments are closed.