हिमगिरि हाइजिनको ब्राण्ड एम्बेस्डर महजोडी, एक वर्षका लागि सम्झौता

विराटनगर। विराटनगरको हिमगिरि हाइजिनले कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महाजोडी) लाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। धोनी, एक्स्ट्रा र अउरा ब्रान्डमा डिटर्जेन्ट साबुन, डिटर्जेन्ट पाउडर, ट्वाइलेट क्लिनर, टिस्यु पेपर, मास्कलगायतका सफाइ र हाइजिनका वस्तुको उत्पादन गर्दै आएको हिमगिरिले महजोडीलाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो।
हिमगिरिका सञ्चालक महेश जाजू र महजोडीले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा ब्राण्ड एम्बेस्डरको सम्झौतापत्र आदानप्रदान गरे।
समारोहमा कलाकार आचार्यले महजोडीको जीवनस्तरमाथि पुर्‍याउन विज्ञापनको ठूलो भूमिका भएको बताए। ‘हामी कलाकारको जीवन गीत गाएर, चलचित्र र टेलिफिल्म खेलेर वा स्टेजमा पर्फर्मेन्स गरेर मात्र चल्दो रहेनछ’, आचार्यले भने, ‘त्यसैले हामीले विज्ञापनमा पनि काम गर्न थालेका हौं।’
आचार्यले महजोडीले व्यवसायिक विज्ञापनमा अभिनय गर्दा कम्पनी र उत्पादनको पृष्ठभूमिको पर्याप्त अध्ययन गरेर मात्र स्वीकार गर्ने गरेको बताए।
अर्का कलाकार श्रेष्ठले पहिलेपहिले सामाजिक विषयका विज्ञापनमा मात्र अभिनय गरे पनि पछिल्लो समय व्यवसायिक विज्ञापनमा काम गरेको बताए।श्रेष्ठले स्वदेशी उद्योग नफस्टाएर नै मुलुकले समृद्धि हासिल गर्न नसकेको र युवा रोजगारीका लागि पलायत भएको बताए।
हिमगिरिका सञ्चालक जाजूले आफ्ना उप्पादन भुटानमा निर्यात भइरहेको र अन्य देशमा निर्यातका लागि सम्भाव्यताको अध्ययन भइरहेको जानकारी दिए।उनले नेपालमा हिमगिरिले साबुनको ५० प्रतिशत बजार ओगटेको दाबी गरे।

Comments are closed.