माल्दिभ्सले साढे ३ महिनाभित्र सबै भारतीय सैनिक फिर्ता पठाउने

माले । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्समा रहेका सबै भारतीय सैनिक यसै वर्षको मे १० सम्ममा फिर्ता जाने बताएका छन् ।संसद्‌को अन्तिम सत्रलाई आफ्नो पहिलो सम्बोधन गर्दै राष्ट्रपति मुइज्जुले मार्च १० भन्दा अगावै नै भारतीय सैनिकको पहिलो दस्ता फिर्ता जाने र बाँकी दुई दस्ता मे १० सम्ममा गइसक्ने जानकारी दिएका हुन् । देशबाट भारतीय सैनिक फिर्ता पठाउने आफ्नो निर्वाचनअघिको वाचालाई स्मरण गर्दै राष्ट्रपति मुइज्जुले कुनै पनि देशलाई माल्दिभ्सको सार्वभौमिकतामा हस्तक्षेप वा यसको अवमूल्यन गर्न नदिने दृढता व्यक्त गरेका थिए ।
मानवीय सहयोग र चिकित्सकीय उद्धारका लागि हाल माल्दिभ्समा भारतीय सेनाका ८७ सैनिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । माल्दिभ्समा यही मार्च १७ मा संसदीय निर्वाचन हुँदै छ । गत वर्षको नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका मुइज्जु भारतविरोधी र चीननिकट मानिन्छन् ।
मुइज्जुको चुनावी अभियानै देशको आन्तरिक मामिलामा भारतीय प्रभाव न्यून गर्ने नारामा केन्द्रित थियो भने उनले पदभार ग्रहण गरेदेखि नै भारतीय सेना फिर्तीको विषयलाई लिएर दुई देशबीच तनाव रहँदै आएको थियो । केही समयअघि भारतको राजधानी दिल्लीमा भएको एक बैठकमा दुई देशबीच भारतीय सेना फिर्ता लैजाने विषयमा सहमति भएको रोयटर्सले जनाएको छ ।
गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लक्ष्यद्विप भ्रमण गरेको विषयमा माल्दिभ्सका तीन मन्त्रीले अपमानजनक टिप्पणी गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । पूर्वपरम्परालाई तोड्दै मुइज्जु भारतभन्दा पहिले चीनको भ्रमणमा गएको विषयले पनि भारतीय पक्ष निकै चिढिएको थियो ।
मुइज्जु आजको सम्बोधनलाई प्रमुख दुई विपक्षी दल एमडीपी र डेमोक्र्याट्सका गरी ५६ सांसदले बहिष्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Comments are closed.